टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै : कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि सञ्चालनमा आउन लागेको छ। ०४६ सालमा बन्द भएको यो विमानस्थल यही मंसिर ३० गतेदेखि पुन: सञ्चालनमा आउने भएको हो।
टीकापुर नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटको सहमतिसहित उडान सुरु गर्न लागेको छ। विमानस्थलको धावनमार्गलाई सुधार गरेर काँडेतारले छेकबार गरिएको छ। पहिलो उडान मंसिर ३० गते हुनेछ भने त्यसपछि हरेक आइतबार र बिहीबार उडान हुने तालिका बनाइएको छ।
टीकापुरबाट नेपालगन्ज र काठमाडौं पुग्न तारा एयर र यती एयरलाइन्सले सेवा दिनेछन्। एकतर्फी भाडा नौ हजार रुपैयाँ तोकिएको छ। टिकट अनलाइन वा स्थानीय बिक्रेताबाट किन्न सकिने व्यवस्था गरिएको छ।
विमानस्थल सञ्चालन भएपछि कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई यात्रा गर्न सजिलो हुने र टीकापुरमा पर्यटन र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।