२३ किलोमिटरभन्दा बढी सडक बन्दै: सिद्धार्थनगर नगरपालिका, नेपाल सरकार र एसियाली बिकास बैंक (एडिबी) को सहयोगमा २३ किलोमिटरभन्दा बढी सडक बनाउन सम्झौता भएको छ। यो सडक निर्माण योजना युआरएलआइपी योजनाअन्तर्गत हुनेछ।
सम्झौतापछि, भारतको निर्माण कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडले ३० महिना (९०० दिन) भित्र यो काम पूरा गर्नुपर्नेछ।
यस योजनामा नाला, फुटपाथ, सेफ्टी रेलिङ, खानेपानी, बिजुली, सडकको कालोपत्रे, आरसिसी ढलान र नगरको सौन्दर्यकरणका काम हुनेछन्।
यो योजना एक अर्ब १८ करोड लागतको हुनेछ। यसका लागि ७५ प्रतिशत एडिबीको ऋण, १८ प्रतिशत नेपाल सरकारको अनुदान, ७ प्रतिशत नगरपालिका आन्तरिक स्रोतबाट खर्च हुनेछन्।
नगरपालिकाले यसअघि पनि सफलतापूर्वक सडक योजनाहरू सम्पन्न गरेको थियो। यस कारण नगरपालिकालाई पुरस्कार पनि प्राप्त भएको थियो।
यो योजना सिद्धार्थनगर, तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा पनि लागू हुनेछ। ती स्थानहरूमा योजना अध्ययनको चरणमा छन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने, “हामीले यो योजना २ महिनाभित्र सुरु गर्ने छौं। जब यो योजना सम्पन्न हुनेछ, नगरको विकास धेरै अगाडि बढ्ने छ।”
निर्माण कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडका प्रतिनिधि विक्रम गौतमले योजना समयमा सक्ने प्रतिबद्धता जनाए।