आयोजनालाई तीव्रता दिन पटक–पटक कार्यालय र निर्माण कम्पनीबीच समन्वय गरे पनि कामले गति लिन नसकेको झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए।
मच्छीबाट काम सुरु गर्दा प्रगति पनि राम्रो देखिने, निर्माण सामग्री पुर्याउनसमेत सजिलो हुने सुझाव राखे पनि विभिन्न बहाना बनाएर ठेकेदारले काम अघि नबढाएको उनको गुनासो छ।
हिउँदको समयमा धुलाम्मे र वर्षात्मा हिलाम्मे भएर पहिरोले हिँडडुल गर्नै समस्या परेको मदाने गाउँपालिका गुल्मीका अध्यक्ष महेन्द्रबहादुर कुँवर बताउँछन्।
समयमा भुक्तानी नभएको र नदीजन्य सामग्रीको अभावले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि दीपेन्द्रकुमार ठाकुरले बताए।
काम गर्ने जनशक्ति नराख्ने, १-२ वटा मेसिन र टिप्पर राखेर अर्बको आयोजना सम्पन्न गर्न खोज्नु नै गलत भएको झिमरुक गाउँपालिका—५ का वडाध्यक्ष दधिराम पोख्रेलले बताए।
नदीजन्य सामग्रीको अभाव भन्नु बहाना मात्र भएको उल्लेख गर्दै उनले सामग्री अभाव नरहेको समेत जानकारी दिए।
लामो समयदेखि विभिन्न बहानामा काम रोकिएका योजनाहरूलाई तीव्रता दिन पहल थालिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले बताइन्।
मदन भण्डारी राजमार्गको सडक निर्माणलाई गति दिन, बाटोका कारणले चार घर उच्च जोखिममा रहेकोलाई क्षतिपूर्ति दिई हटाउन पहल गरिएको उनको भनाइ छ।
‘बाटो निर्माण अलपत्र पर्दा तीन जिल्लाका स्थानीयले दुःख पाएकोले सर्वपक्षीय बैठक गरी समस्या समाधान थालेका हौं’, उनले भनिन्, ‘खलेगाँउका चार घरलाई स्थानान्तरणका लागि क्षतिपूर्ति दिने, पहिरोहरू हटाउने र काम सुरु गर्ने सहमतिअनुसार काम सुरु भएको छ।’
प्यूठानका भित्री सडकमध्ये सबैभन्दा व्यस्त सडक हो बाग्दुला–मच्छी खण्ड। यही सडक वर्षौंदेखि मदन भण्डारी राजमार्ग निर्माणको पर्खाइमा छ।
तर, प्यूठानीका लागि वर्षौँदेखिको पखाईको प्यास अझै मेटिएको छैन। बाग्दुला (प्यूठान)–भीमगिठे (बागलुङ) सडक आयोजना पनि यही खण्डअन्तर्गत निर्माण गर्ने भनिएको छ।
तर, त्यो पनि हात्ती आयो, हात्ती आयो फुस्सा जस्तै भएको छ। दुवै आयोजनाले नागरिकको चाहनाअनुसार गति नलिँदा जिल्लाकै व्यस्त सडक अस्तव्यस्त बनेको छ।
जिल्लावासीले संघीय सांसद् सूर्य थापा, लुम्बिनी प्रदेशका मन्त्री सरोज थापा (रोज राणा) र सांसद्हरूलाई यथाशीघ्र सडक निर्माणलाई गति दिने गरी पहल थाल्न आग्रह गरेका छन्।