ललितपुरमा मोटरसाइकल दुर्घटना

ललितपुरमा मोटरसाइकल दुर्घटना: ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ ।

ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन् ।

प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।

तनहुँको भिमाद नगरपालिका–५ घर भएर पेप्सीकोला बस्ने बस्यालको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

शुक्रवार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते भएका छन् ।

उनको बीएण्डबी अस्पतालमा उपचार हुँदै छ । प्रत्युसको टाउकोमा चोट लागेको छ ।

ओभर स्पिडमा रहेको मोटरसाइकललाई राडार गनले सङ्केत गरेपछि ट्राफिकले रोक्न खोज्दा रेलिङमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ स्पिडमा हाँकेका थिए ।

मोटरसाइकलको ठक्करबाट ट्राफिकका सहायक हवलदार जनक सिंह भाट घाइते भएका छन् ।

उनको नेपाल प्रहरी अस्पतालमा उपचार हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *