हिमालयको चार्टर्ड जहाजमा प्रधानमन्त्री बेइजिङ जाने

हिमालयको चार्टर्ड जहाजमा प्रधानमन्त्री बेइजिङ जाने: प्रधानमन्त्री केपी ओली निजी क्षेत्रको हिमालय एयरलाइन्समार्फत चीन भ्रमणमा जाने भएका छन् । १७ मंसिरदेखि २० मंसिरसम्म प्रधानमन्त्रीले चीन भ्रमण गर्ने तालिका छ ।

हिमालय एयरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग काठमाडौं–बेइजिङ–काठमाडौंको भिभिआइपी उडान (विशेष उडान)का लागि अनुमति मागेको स्रोतले बतायो ।

हिमालयले १७ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्ट र २० मंसिरमा बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिभिआइपी उडानको अनुमति मागेको हो ।

अनुमति मागेअनुसार प्रधानमन्त्री चढेको जहाज काठमाडौंबाट बिहान ११ बजे (नेपाली समय) बेइजिङतर्फ प्रस्थान गर्ने र ६ः१५ बजे (बेइजिङको समय) मा बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्ने तालिका छ ।

यस्तै, २० मंसिरमा स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङबाट उडेको जहाज दिउँसो २ः१५ बजे (नेपाली समय) काठमाडौंमा अवतरण गर्नेछ ।

प्रधानमन्त्री ओलीले यसअघि पनि चीन भ्रमणमा हिमालयकै जहाज चार्टर्ड गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *