रामेछाप-काठमाडौं हवाई उडान बन्द

रामेछाप-काठमाडौं हवाई उडान बन्द: दुई महिनाअघिदेखि रामेछाप विमानस्थलबाट रामेछाप–काठमाडौं उडान भर्दै आएका तीन निजी विमान कम्पनीले उडान सेवा बन्द गरेपछि रामेछापबाट काठमाडौं जान टिकट काटेका यात्रु अलपत्र परेका छन्।

रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछापका लागि नागरिक उड्डयन प्राधिकरणले उडान तालिका नै नराखेको भन्दै निजी विमान कम्पनीहरूले दुई हप्तादेखि उडान सेवा बन्द गराएका हुन्।

दुई हप्ताअघिसम्म तारा एयर, सीता यएर र समिट एयरले दैनिक एक उडान भर्दै आएका थिए।

रामेछापमा विमानस्थल भएर पनि नागरिकहरूले हवाई सेवामार्फत सेवा नपाएको भन्दै चर्को विरोध जनाउँदै आएका छन्।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको भीषण बाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएर राजधानीदेखि रामेछापसम्मको सम्पर्क टुटेपछि रामेछापमा असोजको तेस्राे सातादेखि निजी विमान कम्पनीहरूले दैनिक एक उडान भर्दै आएका थिए।

वर्षातका कारण सडक अवरुद्ध भए पनि जहाजमार्फत बिरामी, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिला र बालबालिकाहरूले सहजै यात्रा गर्ने अवसर पाएका थिए।

जहाज बन्द भएपछि अहिले रामेछापका यात्रुहरू बिपी राजमार्ग हुँदै घण्टौँ लगाएर यात्रा गर्न बाध्य छन्।

जिल्लामै विमानस्थल हुँदा पनि नागरिकले सेवा नपाउनु दुःखद भएको मन्थली नगरपालिका– १ का नारायणदास श्रेष्ठले बताए।

रामेछाप विमानस्थलबाट काठमाडौंसम्म नियमित सेवा दिँदै आएको तारा एयर, समिट एयर र सीता एयरले दुई सातादेखि काठमाडौंका लागि उडान सेवा बन्द गरेको तारा एयर रामेछापका स्टेसन प्रमुख प्रवीण सुवेदीले जानकारी दिए।

उनले भने, ‘विमानको उडान तालिका नहुँदा हाललाई नियमित उडान सेवा बन्द भएको छ।’ नागरिक उड्डयन प्राधिकरणले उडान तालिका पठाए पुनः नियमित उडान भर्ने प्रमुख सुवेदीले बताए।

रामेछाप–काठमाडौं नियमित उडान हुँदै जहाजको टिकट काटिसकेका नागरिकहरू सेवा बन्द हुँदा मारमा परेका छन्।

जहाजको टिकट काटेर राजधानी जाने तयारी गर्दा गर्दै जहाजको उडान सेवा नै बन्द गर्दा आफूहरू मारमा परेको गोकुलगंगा गाउँपालिका– ४ बेतालीका नवीन केसीले बताए।

यसअघि जिल्लावासीहरूको तीव्र दबाबपछि नागरिक उड्डयन प्राधिकरणले तालिका सार्वजनिक गरेपछि निजी वायुसेवा कम्पनीहरूले रामेछाप–काठमाडौं उडान भर्दै आएका थिए।

उडान सेवा सुरु गरेको दुई महिना नबित्दै पुनः उडान बन्द भएपछि रामेछापका नागरिक फेरि मारमा परेका छन्।

तीन विमान कम्पनीले रामेछाप–काठमाडौं उडान बन्द गरे पनि रामेछाप विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक ४० भन्दा बढी उडान भर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *