वायुसेवा निगमका पाइलट नै हडतालमा

वायुसेवा निगमका पाइलट नै हडतालमा: नेपाल वायुसेवा निगमका वाइडबडी र न्यारोबडीका आठ पाइलट नियोजित रूपमा बिदामा बसेपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

आइतबारको काठमाडौं–दुबईको उडान नै सोमबारका लागि सारिएको छ भने दिल्ली र मुम्बईका उडान आठ घण्टासम्म डिले भएका छन् । विमानस्थल पुगेका सयौँ यात्रु अलपत्र परेका छन् ।

खाइपाइ आएको सेवा–सुविधा बढाउन माग गर्दै पाइलटहरू हडतालमा उत्रिएका हुन् । करारमा कार्यरत पाइलटहरूको तुलनामा आफूहरूले प्राप्त गर्ने सेवा–सुविधा कम भएको भन्दै स्थायी आठ पाइलटले सुविधा बढाउन माग गर्दै आइरहेका छन् । अहिले निगममा वाइडबडी र न्यारोबडीका ४३ जना स्थायी पाइलट छन् । आठ पाइलटले ६ मंसिरदेखि नियोजित रूपमा ‘बिरामी र अर्जेन्ट काम’ परेको जानकारी गराउँदै बिदामा बसेको निगम स्रोतको भनाइ छ ।

सेड्युल उडानमा रहेका पाइलटहरू बिदा बसेपछि शुक्रबारदेखि नै निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेको छ । सोही कारण आइतबार दिउँसो १:४५ बजेको काठमाडौं–दिल्ली उडान डेढ घण्टा डिले भएको छ । सो उडानमा दिल्ली जाने दुई सय ७५ र फर्किने एक सय ९५ यात्रु थिए । दिउँसो १२:२० को काठमाडौं–मुम्बई फ्लाइट डिले हुँदा बिहानै १० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका यात्रुहरू राति १० बजे मात्र गन्तव्यतर्फ प्रस्थान गर्न पाएका थिए । मुम्बई जाने यात्रुहरू पनि भरिभराउ थिए ।

आइतबार बेलुका साढे ९ बजेको काठमाडौं–भैरहवा–दुबई उडान पनि सोमबार बिहान सवा ९ बजेका लागि सारिएको निगम स्रोतले जानकारी दिएको छ । सोमबार बिहान क्याप्टेन नगेन्द्र भट्टराई र लिबर्टी भण्डारीले यात्रु बोकेर दुबईका लागि उडान गर्ने तालिका छ । यो उडानमा दुबई जाने यात्रु भरिभराउ छन् भने फर्किने ८० जना रहेको बताइएको छ । उडान क्यान्सिल भएपछि निगमले आफ्नै खर्चमा यात्रुहरूलाई तारे होटेलमा राख्नुपर्छ । अर्जेन्ट यात्रुहरूलाई महँगो टिकट काटेरै भए पनि अर्को फ्लाइटमा गन्तव्यमा पठाउनुपर्ने हुन्छ । शनिबार हङकङको दिउँसो ११ बजेको फ्लाइट डिले भएर दुई बजेपछि मात्र उडेको बताइएको छ ।

एक्कासि सेड्युल फ्लाइट सरेपछि विमानस्थलमा पुगिसकेका काठमाडौं र दुबईतर्फका यात्रुलाई व्यवस्थापन गर्न निगमले अतिरिक्त खर्च व्यहोर्नुपरेको छ । ‘सोमबार पनि के–कति उडान हुन्छन्, यसै भन्न सकिने अवस्था छैन,’ स्रोत भन्छ, ‘पाइलट उडानमा फर्किए नियमित उडान हुनेछ, नत्र उडानहरू डिले हुने र रद्दसमेत हुन सक्छन् ।’ व्यस्त सिजनमा पाइलट बिदामा बसेर हडतालमा उत्रिँदा सयौँ यात्रु अलपत्र पर्नुका साथै निगमको आम्दानी र साखसमेत गुम्न पुगेको छ ।

यसअघि क्याबिन क्रु हडतालमा उत्रिँदा उडान प्रभावित भएर यात्रु अलपत्र परेको र निगमले आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो । यही असोजमा क्याबिन क्रुहरूले ४५ वर्षे उमेर हदलाई ५० वर्ष पु¥याउनुपर्ने माग राख्दै हडतालमा उत्रिएका थिए ।

सुनियोजित देखिने गरी आठजना पाइलटले सिक रिपोर्ट र अजेन्ट वर्क रिपोर्ट देखाउँदै बिदा बसेपछि अप्रेससन विभागले शुक्रबार ककपिट क्रु (पाइलट र को–पाइलट)हरूलाई नोटिस जारी गर्दै व्यस्त सिजनमा अप्रेसन स्मुथ बनाउनुपर्नेतर्फ सचेत गराएको छ । आइतबार निगमको अप्रेसन विभागले सम्पूर्ण विमान चालकहरूलाई आआफ्नो रोस्टरअनुसार उडानमा संलग्न भई कुनै पनि उडान प्रभावित नगर्न–नगराउन सचेत गराएको हो ।

अप्रेसन विभागको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सुनियोजित देखिने गरी आठ पाइलटले सिक रिपोर्ट र अर्जेन्ट वर्क रिपोर्ट गर्दा आठ गतेदेखि उडानमा प्रभाव देखिन थालेको छ । निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र भएको छैन, निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको छ, यसलाई निगम व्यवस्थापनले अत्यन्त गम्भीर रूपमा लिएको छ र निगमलाइ पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने व्यहोरा जानकारी गराइन्छ ।’

पाइलटहरूको मागका सम्बन्धमा निगम व्यवस्थापन अत्यन्तै गम्भीर रहेको निगम प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकोले छिट्टै समस्या समाधान हुनेमा विश्वस्त छौँ ।’ पाइलटको सेवा–सुविधा बढाउन पर्यटन सचिव डा. गणेश पाण्डेयले अर्थमन्त्री विष्णु पौडेलसँग सोमबार छलफल गर्ने तालिका रहेको अप्रेसन विभागले जनाएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *