बन्द भयो अमेरिकाबाट हाइटीतर्फको उडान: अमेरिकाको उड्ययन नियामकले हाइटीतर्फ घरेलु हवाई सेवा प्रदायकहरूको उडान स्थगित गरिदिएको छ ।
हाइटीबाट उडेको अमेरिकी विमानमा बन्दुक आक्रमण भएको तीन दिनपछि यो निर्णय गरिएको हो ।
कम्तिमा पनि ३० दिनससम्म अमेरिकी हवाई सेवा प्रदायकहरूले हाइटीमा कुनै उडान गर्न पाउने छैनन् ।
राजधानी पोर्ट–अउ–प्रिन्सबाट उडेपछि जेटब्लू, स्पीरिट र अमेरिकन एयरलाइन्सको विमानमाथि सोमबार बन्दुक प्रहार भएको थियो ।
आक्रमणमा स्पीरिटको विमानको परिचारिकालाई सामान्य घाउ चोट लागेको भएपनि यात्रुलाई भने क्षति पुगेको थिएन ।
मंगलबार अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए)ले विमान सेवा कम्पनीहरूको नाममा एउटा सूचना जारी गर्दै जारी सुरक्षा अस्थीरताबीच उडानको सुरक्षा जोखिमका कारण हाइटीमा उडान गर्न रोक लगाएको भनेको छ ।
अमेरिकी विमानहरू अब हाइटीको भूभाग र हवाई क्षेत्रको १० हजार फिटमाथि मात्रै उड्न पाउनेछन् ।
स्पीरिटको उडानमाथि भएको गोलीबारीको घटनामा एफबीआईले पनि अनुसन्धान सुरु गरेको छ ।