बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै: तनहुँको बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ ।

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उनले बताए ।

उनले भने, ‘सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ ।’

बेलभन्ज्याङ– बानियाँटार सडकमा रु एक करोड, रिमाल्नी– भुडाटार जाने सडकमा ५० लाख, बन्दीपुर– ढाडखोला मोटरमार्गअन्तर्गत भुमर्से– हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा ५० लाख, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा दुई करोड, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा ५० लाख रुपैयाँको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी दिए ।

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टँुडिखेल जाने बाटो कालोपत्र भएको छ ।

अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिए ।

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा दुई करोडको कालोपत्रको काम यथाशीघ्र सुरु गरिने थापाले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म दुई करोड रुपैयाँको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म एक करोडको लागतमा बाटो स्तरोन्नति भइरहेको छ ।

संघीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ २० करोड रुपैयाँ बजेट प्राप्त भएको र उक्त बजेटबाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *