गृहमन्त्री लेखकले गरे ‘डिजिटल चिट’को शुभारम्भ

गृहमन्त्री लेखकले गरे ‘डिजिटल चिट’को शुभारम्भ : काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले इ–चलान (डिजिटल चिट) प्रणालीको सुरुवात गरेको छ।

सवारी नियम उल्लंघन गरेको अवस्थामा कागजी चिट नकाटी तत्कालै अनलाइनमार्फत भुक्तान गर्न मिल्ने गरी यस्तो प्रणाली सुरुवात गरिएको हो।

गृहमन्त्री रमेश लेखकले आइतबार उक्त प्रणालीको शुभारम्भ गरेका हुन्। ट्राइभ भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस)मार्फत डिजिटल चिटको सुरुवात गरिएको हो।

तर, ट्राफिक कक्षा लिनुपर्ने कसुरमा कारबाही भएमा भने पछि मात्र भुक्तानी हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

साथै, लाइसेन्स नहुनेले अब नागरिक एपमै विवरण देखाउन मिल्छ। लाइसेन्स छपाइमा एक वर्षभन्दा लामो समय आउने भएपछि भौतिक रूपमा लाइसेन्स नै देखाउन नपर्ने व्यवस्था गरिएको हो।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सूचना प्रविधिको प्रयोगमार्फत राज्यका सेवा प्रवाहलाई सरल र सुलभ बनाउँदै लगिने बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन सम्बन्धमा नवीनतम प्रविधिको माध्यमबाट आमनागरिकमा सहज, सरल, पारदर्शी र गुनासोरहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रविधिको शुभारम्भ भएको बताए।

त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहने उनले उल्लेख गरे।

प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोतसाधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताए।

इ–चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको र उक्त सेवा कम झन्झटिलो र गुनासोरहित हुने उनको विश्वास छ।

यस्तै, शुक्रबारको मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय परिचयपत्र सूचना प्रणाली र नागरिक एपबिच अन्तरआबद्धता कायम गर्न स्वीकृति प्रदान गरेको छ।

लाइसेन्सको सबै विवरण राष्ट्रिय परिचयपत्रमै राख्ने र लाइसेन्स बोक्न नपर्ने गरी सरकारले तयारी गरिरहेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *