पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ सर्वसाधारणका लागि खुला भएको छ ।
काठमाडौं महानगरपालिकाले गत शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो । योसँगै महानगरको सहरी क्षेत्रमा देखिएको पार्किङ समस्या कम हुने अनुमान छ ।
महानगरपालिकाअन्तर्गत सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रमुख महेश काफ्लेका अनुसार सुरुवातमा यहाँ तीन सयवटा चारपांग्रे र एक हजारवटा दुईपांग्रे सवारीसाधन पार्क गर्न मिल्नेछ । ‘२२ वैशाखदेखि नै भ्यु टावरको पार्किङ खुला गरिसकेका छौँ,’ प्रमुख काफ्लेले भने ।
महानगरले बागबजार, दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाएसँगै निर्माणाधीन भ्यु टावरको पार्किङ खोल्ने निर्णय गरेको थियो ।
पार्किङको माग गर्दै बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित पनि भएका थिए । विरोधस्वरूप अझै पनि बागबजार क्षेत्रका व्यापारीले ब्यानर झुन्ड्याएका छन् ।
दरबारमार्ग क्षेत्रका व्यवसायीले पनि विरोधस्वरूप ब्यानर झुन्ड्याएका छन् । ‘हामीले विभिन्न ठाउँका पार्किङ हटाइसकेका छौँ ।
हटाउने क्रममा पनि छौँ,’ पिपिपी प्रमुख काफ्लेले भने, ‘पार्किङ हटाउँदै गएपछि ‘कोर एरिया’को व्यापार नचल्ने अवस्थामा छ । ती ठाउँ चलायमान बनाउने गरी पार्किङस्थलको व्यवस्था गर्न माग आउन थालेको छ ।
त्यसैले भ्यु टावरको पार्किङ खुला गरेका हौँ ।’ निर्माणाधीन भ्यु टावरको पार्किङ भने शुल्कसहितको हुनेछ । निःशुल्क गर्न सम्भव नभएकाले न्यूनतम शुल्क लिने निर्णय भएको काफ्लेले बताए ।