काभ्रे हुँदै निर्माण सामाग्री ढुवानीमा संलग्न ट्रिपर व्यवसायीहरुले दिउँसो टिपर चलाउन पाउनुपर्ने मागका साथ आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । टिपर दुर्घटनाका घटनाहरुमा वृद्धि हुँदै गएपछि सरकारले केही दिनअघि उपत्यकामा दिउँसो टिपर सञ्चालनलाई पूर्णतया बन्द गरी राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न पाउने नियम पारित गरेको थियो । काभ्रेमा पनि दिउँसो टिपर सञ्चालन गर्न नपाएपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् । राती गाडी चलाउँदा परिवारबाट टाढिनु परेको, अभद्र व्यवहार सहनुपरेको, आफूहरु कुटिनपरेको व्यवसायीहरुको भनाई छ ।
स्वरोजगार ट्रक टिपर व्यवसायी संघ, बाग्मती टिपर व्यवसायी संघ र आखिल नेपाल मजदुर संघ ३ नम्बर प्रदेशले संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गरी आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तीमा आफ्नो माग शिघ्र सुनुवाई हुन पर्ने र प्रहरीको अभद्र व्यवहार सुधार हुनुपर्ने माग उल्लेख रहेका छन् । सुनकोशी, ईन्द्रावती नदी, त्रिशुली लगायतका क्षेत्रबाट निर्माण सामाग्री अरनी र बीपी मार्ग हुँदै राजधानी भित्रिने गरेकोमा दिउँसो टिपर चलाउँन नपाउँदा निर्माण सामाग्रीको भाउ ह्वात्तै बढेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने, शान्तिपूर्ण प्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम रहेकोमा सरकारले माग सुनुवाई नगरे क्रमशः दोस्रो र तेस्रो चरणमा ट्रक टिपर ग्यारेजमा , घरमा थन्काएर चाबी र बिलबुक सरकारलाई जिम्मा लगाउँने कार्यक्रम रहेको व्यवसायीहरुले ट्रक टिपर व्यवसायीहरुले बताएका छन् ।