यातायात व्यवसायीहरुले कि भाडा बढाउनुपर्ने कि ईन्धनको मूल्य घटाउनुपर्ने मागका साथ रोकेको अग्रिम टिकट बुकिङ सेवा सरकारले तत्काल सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगैं खुला गरिएको छ । सरकारले आजदेखि लागू हुनेगरी देशभरका सबै क्षेत्रमा हालको भाडामा १० प्रतिशत भाडा बढाउने र मंसिरसम्म भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायी र सरकारबीच भएको सम्झौतामा इन्धनको मल्य बढेकाले हाल १० प्रतिशत भाडा बढाउने र भाडा समायोजन गर्नका लागि ३ सदश्यीय समिति बनाउने निर्णय गरिएको छ । समितिले २ महिनाभित्र प्रतिवेदन दिने छ ।
असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेका यातायात व्यवसायीले भाडा र इन्धनको विषयमा हेरफेर नभए सम्म अग्रिम टिकट बुकिङ नखोल्ने अडानका साथ बुकिङ रोकेका थिए । लगातार ईन्धनको मूल्य बढिरहेको तर भाडा उही रहेकोले घाटा खाएर गाडी गुडाउन नसकिने भनाई यातायात व्यवसायीहरुको रहेको थियोे ।