बजाजको प्रायोजन क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
January 14, 2022

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सिलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सिलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा अत्यन्त खुसी भएको बताउदै बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने बताए । उनले बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध भएको र आगामी दिनमा पनि समेत रहने बताए ।

त्यस्तै पूर्व कप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको बताउदै नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी भएको बताए ।

क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।