खोपासीस्थित श्रीराम माविलाई डस्टविन र शैक्षिक सामग्री सहयोग
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
January 13, 2022

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेण्ट्रलद्धारा काभ्रेको पनौती नगरपालिका १० खोपासीस्थित श्रीराम माविका पूर्व विद्यार्थी रोशन कुमार श्रेष्ठ र भूषण कुमार श्रेष्ठले विद्यालयलाई डस्टविन र शैक्षिक सामग्री सहयोग गरेका छन् । रोशन र भूषण दुवै जना दाजुभाइ हुन् । उनीहरु श्रीराम माविका पूर्व विद्यार्थी हुन् ।

डस्टविन र शैक्षिक सामग्री हस्तान्तरण गर्दै रोशन कुमार श्रेष्ठले विद्यालय परिषरमा हुने फोहोर व्यवस्थापनका लागि सहयोग पुग्ने बताए । उनले आफूले पढेको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

भूषण कुमार श्रेष्ठले आगामी दिनमा विद्यालय परिसरमा विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे । रोशन कुमार श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेण्ट्रलका अध्यक्ष हुन भने भूषण कुमार श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेण्ड्सका अध्यक्ष हुन् ।

श्रीराम माविका प्रधानाध्यापक उत्तम ताम्राकारले डस्टविन तथा शैक्षिक सामग्री ग्रहण गर्दै दुबै जना दाजुभाइलाई धन्यबाद दिए । डस्टविनले विद्यालयको सरसफाइमा टेवा पुग्ने र शैक्षिक सामग्रीले विद्यालयमा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई शिक्षा आर्जनमा सहयोग पुग्ने उनले बताए । उनले यो सहयोगले सम्बन्ध पनि बलियो बन्ने विश्वास ब्यक्त गरे ।

श्रीराम माध्यामिक विद्यालय वि.स. २००८ सालमा स्थापना भएको हो । विद्यालयले विगत समयदेखि काभ्रेको शिक्षामा सहयोग पुर्याउँदै आएको छ ।