जाम  र नासा फाउन्डेसनबीच अन्तरक्रिया कार्यक्रम
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 30, 2021

नेपालमा सडक सुरक्षा र मोटर स्पोर्ट्सको क्षेत्रमा कार्यरत नासा फाउन्डेसन र अटो पत्रकार संघ (जाम) का बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा गरिएको उक्त कार्यक्रममा नासा फाउन्डेसनका सल्लाहकार गोबिन्द प्रसाद भट्टराईलाई सम्मान तथा बधाई ज्ञापन समेत गरिएको छ । हालै मोटर स्पोर्ट्स सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफआइएको अधिवेशनमा नेपालबाट प्रतिनिधित्व गरी रिजन २ बाट नयाँ कार्यसमितिमा निर्वाचित भएका उनलाई जामले बधाई तथा सम्मान गरेको हो ।

त्यसैगरी सो अवसरमा नासा फाउन्डेसनको तर्फबाट जाम नेपालको नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गर्दैै आगामी दिनमा सडक सुरक्षाको क्षेत्रमा सहकार्य गर्नका लागि अनुरोध समेत गरिएको थियो । उक्त अवसरमा रोड सेफ्टी र मोटर स्पोर्ट्सका विविध पक्षका बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले एफआईएमा नेपालको प्रतिनिधत्वले आगामी दिनमा नेपालले यो क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न सक्ने बताए । सडक सुरक्षामा राज्य संवेदनशील बन्न नसकेको गुनासो व्यक्त गदैै उनले भने, ‘नेपालमा सडक सुरक्षाको अवस्था निकै नै कमजोर अवस्थामा रहेको छ । राज्यको प्राथमिकतामा नपरेको यो क्षेत्रलाई विश्वका अन्य राष्ट्रहरुले भने उच्च महत्व दिएका छन् । सडक सुरक्षाका मापदण्डहरु पालना नगर्दा बर्सेनी हजारौ यात्रुले अकालमा मृत्युवरण गर्नु परेको छ । तर पनि यो सवालमा राज्य कत्तिपनि संवेदनशील रहेको देखिदैन ।’ यो विषयमा राज्यका अंग र सरोकारवाला निकायहरुलाई झक्झकाउन जाम नेपालले विशेष भूमिका खेल्न सक्ने उनको भनाइ थियो । जाम नेपालका अध्यक्ष उज्वलजंग शाहले सडक सुरक्षा र मोटर स्पोर्ट्सका क्षेत्रमा नासा फाउन्डेसनसँग सहकार्य गरी सही सूचना प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहने धारणा व्यक्त गरे । नेपालमा सडक सुरक्षा र मोटर स्पोर्ट्सको क्षेत्रमा नासा फाउन्डेसनले गरेको योगदानको प्रशंसा गर्दै उनले भने, ‘राज्यका निकायहरुबाट बेवास्ता गरिएपनि नासा एक्लैले यो क्षेत्रमा धेरै काम गरेको छ । जसको परिणाम एफआईएमा नेपालबाट प्रतिनिधित्व हुनु आफैमा गर्व गर्न लायक विषय हो ।’

सो अवसरमा नासा फाउन्डेसनकी भगवती सेढाईले सडक सुरक्षाका लागि हेल्मेटको अनिवार्यता र गुणस्तरियता वारेमा प्रस्तुतिकरण गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा सहभागी पत्रकार र अन्य व्यक्तिहरुलाई नासा फाउन्डेसनको तर्फबाट युएन स्ट्यान्डर्डको हेल्मेट वितरण गरिएको थियो । उक्त हेल्मेट सुरक्षित र आरामदायी रहेको हुँदा यसले सडक दुर्घटनाका बखत निम्तिने जोखिमलाई कम गर्ने बताइएको छ ।