नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा रमेश कोइराला
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 22, 2021

२०७२ सालमा स्थापना भएको नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम अधिवेशन राजधानीमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले नेपाली सडक र यातायातलाई व्यवस्थित बनाउन अन्य व्यवसायी जस्तै रिकन्डिसन अटो व्यवसायीहरुको पनि उत्तिकै महत्वपूणर् भूमिका भएको बताएकी छिन् । सेकेन्ड ह्यान्ड अर्थात रिकन्डिसन अटो व्यवसायीहरुको संगठन ‘नेपाल रिकन्डिसन अटो व्यवसायी संघ’ को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले सो भनाइ राखेकी हुन् ।

उनले भनिन्, ‘सुविधा सम्पन्न बाटोमा आफ्नै चारपांग्रे सवारी चढ्न चाहने नेपालीहरुलाई तपाईहरुको सेवाले सहयोग पुगेको छ ।’ यद्यपि सडक दुर्घटना, प्रदूषण, व्यवस्थित सडक आदि सबै कार्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता भएको र यसमा सरकार तथा व्यवसायीहरु मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सडक, ट्राफिक, सवारी आदिको व्यवस्थापन गर्नु पर्ने मुख्य जिम्मेवारीमा रहेको विभागले व्यवसायीहरुको माग अनुसार मेकानिकल कन्डिसन ठीक भएका सबै सवारी साधनलाई चल्न दिने नीति लिएको र यसबाट पुराना सार्वजनिक मात्र नभई निजी सवारी साधन व्यवसाय प्रवद्र्धनमा समेत सहयोग पुगेको बताए । विभागले सबै व्यवसायीसँग सहकार्य, समन्वय गरेर अगाडि बढ्ने उनले बताए ।

नाडाका नवनियुक्त अध्यक्ष ध्रुव थापाले आफूले पोखरामा २०४६ सालमा रिकन्डिसन व्यवसाय प्रारम्भ गरेको स्मरण गर्दै आगामी दिनमा रिकन्डिसन व्यवसायीलाई पनि नाडामा समेट्न थप पहल गर्ने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले अन्य देशमा पुराना सवारी साधन कारोबारको व्यवसायलाई व्यवस्थित तरिकाले अगाडि बढाइएको उदाहरण दिदै कानुनले व्यवस्था गरेको नीति अनुसार दुई संघबीच मिलेर सहकार्य गर्न सकिने बताए ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाले रिकन्डिसन व्यवसायीले सरकारलाई कर तिरेर व्यवस्थित तरिकाले व्यवसाय गरिरहेको भए पनि यसलाई अझै व्यवस्थित गर्ने कार्यमा साथ दिन सबैको सहयोगको आग्रह गरे ।

अधिवेशनको अवसरमा यातायात व्यवस्था विभागका अधिकृत लेखनाथ खतिवडा र युवराज फुयाल तथा मेकानिकल इन्जिनियर मोहन यादव तथा विभिन्न ट्राफिक प्रहरी कार्यालयमा कार्यरत अनिल पौडेल, कमलबहादुर गुरुङ र दुर्गा कुमारी पहाडीलाई सम्मान गरिएको थियो ।

अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको छ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा रमेश कोइराला निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया, प्रथम उपाध्यक्ष राजकुमार देवकोटा, महासचिव खगेन्द्रसिंह बम, सचिव नवीनकुमार पारख र कुमार बोगटी, कोषाध्यक्ष प्रदीप राना र सहकोषाध्यक्ष राजेन्द्र कुमार राउत निर्वाचित भएका छन् । सदस्यहरुमा प्रवीण लामिछाने, देवेन्द्रकुमार श्रेष्ठ, रामकुमार शाही ठकुरी, नेत्र तिमल्सिना, लक्ष्मण बञ्जारा, राजकुमार थापा र राजेन्द्र श्रेष्ठ चयन भएका छन् । सल्लाहकारमा शैलेन्द्रकुमार श्रेष्ठ, ईश्वरप्रसाद भट्टराई र विश्वनाथ प्रसाद गुप्ता रहेका छन् ।