टोयोटाको कम्प्याक्ट एसयूभी राइज सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
December 11, 2021

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज सार्वजनिक गरेको छ ।

टोयोटा राइज एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर कार भएको बताइएको छ । साइजमा सानो भए तापनि यसमा रहेको २ सय एमएम ग्राउन्ड क्लियरेन्स, ४.९ मिटरको टर्निङ रेडियस, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङ लगायतका फिचरले यसलाई सो क्लासकै उत्कृष्ट मध्येको एक बनाउछ । भर्खरै मात्र तयार गरिएको इनलाइन थ्री सिलिन्डर १.२ लिटरको पेट्रोल इन्जिनले टप लेवलको एक्सिलरेसन प्रदान गर्छ भने राइज अटोमेटिक भेरिएन्टमा रहेको सीभीटी गियरबक्सले आरामदायी यात्राको अनुभव प्रदान गर्छ । त्यसैगरी यसमा रहेको १७ इन्चको टायरले निकै पावरफुल महसुस गराउनुका साथै गाडीको स्थिरतामा समेत सहयोग गर्छ ।

राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेस रहेको छ भने इन्टरटेनमेन्टको लागि एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ७ इन्चको डिस्प्ले दिइएको छ । सुरक्षामा पनि उत्तिकै अब्बल फिचर छन् ।गाडीमा रियरभ्यु क्यामेरा जडित छ भने अगाडि र पछाडि दुई दुई वटा सोनार सेन्सर रहेको छ । त्यसैगरी गाडीमा एबीएस, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोललगायतका अत्याधुनिक फिचरहरु रहेका छन् । नेपाली बजारमा १.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक गरी चार वटा भेरिएन्टमा टोयोटा राइज उपलब्ध हुने कम्पनीको भनाइ छ । यसको मूल्य ६६ लाख देखि ८६ लाख रुपैयाँ सम्म रहेको छ ।