नेपालमै पहिलो किस्ट हस्पिटलको इलेक्ट्रिक बीवाईडी एम्बुलेन्स
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005...
December 2, 2021

नेपालमै पहिलो पटक इलेक्ट्रिक एम्बुलेन्सको प्रयोग प्रारम्भ भएको छ । किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले चीनको प्रसिद्ध कम्पनी बीवाईडी अटो कम्पनीद्वारा उत्पादित एम्बुलेन्स प्रयोग प्रारम्भ गरेको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी टी३ गत मंगलबार ग्वार्कोस्थित किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको प्रांगणमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ । सो अवसरमा किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका चिफ अफ अपरेसन एन्ड म्यानेजमेन्ट अमिश पाठकले इलेक्ट्रिक मोबिलिटीको प्रयोगबाट हस्पिटलले समाज र वातावरणप्रति जिम्मेवार हस्पिटलको पहिचान कायम गरेको बताए । फुल ग्रेडेड एम्बुलेन्सका लागि आवश्यक भेन्टिलेटर र अन्य सबै आवश्यक उपकरणद्वारा सुसज्जित एम्बुलेन्सको प्रयोग भविष्यमा इमर्जेन्सी र अन्य सबै विभागहरुमा समेत गर्दै जाने उनले बताए ।

साइमेक्स इंकका म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले नेपालमै पहिलो पटक फुल्ली इलेक्ट्रिक एम्बुलेन्सको रुपमा बीवाईडीको उत्पादन हस्पिटललाई उपलब्ध गराउन पाउदा खुसी लागेको बताउदै बीवाईडीको उत्पादनप्रति विश्वास गरेकोमा धन्यवाद ज्ञापन गरिन् । विश्वमै शून्य उत्सर्जन प्रविधिको विस्तारमा लागेको बीवाईडीमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा योगदान गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । साइमेक्स इंकले नेपालमै पहिलो पटक स्वास्थ्य क्षेत्रमा इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउन पाएको अवसरमा किस्ट हस्पिटललाई सहुलियत दरमा सो एम्बुलेन्स उपलब्ध गराएको बताएको छ । बीवाईडी टी३ भ्यान इलेक्ट्रिक एम्बुलेन्सको रुपमा प्रयोग हुन थालेको हो । यसमा ५०.३ किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसलाई सिंगल चार्जमा दिनभर चलाउन सकिन्छ । यसले सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी यसको पछिल्लो भागमा ३ हजार ८ सय लिटरको कार्गो स्पेस छ । यसले ८ सय किलोग्राम सम्मको लोड बोक्न सक्छ । कोभिड–१९ संक्रमणको अवस्थालाई समेत मध्यनजर गरी सो इलेक्ट्रिक एम्बुलेन्स डिजाइन गरिएको छ । त्यसैले यो अक्सिजन ट्यांक, भेन्टिलेटर, ईसीजी मोनिटर र कोल्याप्सिबल स्ट्रेचरले सुसज्जित छ ।