युवा अटो ब्यवसायीहरुको अटोल्यान्ड मैनाबगरमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
November 22, 2021

नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर अटोल्यान्ड संचालनमा आएको छ । बुटवलका ४ जना युवा अटो ब्यवसायीको संयुक्त लगानी रहेको, उक्त अटो ल्यान्डको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री र नेपालमा लागि महिन्द्रा गाडीको आधिकारिक बितरक अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा समेत सहभागी भएका थिए ।

उक्त अटोल्यान्डका अध्यक्ष सुदन ज्ञवालीले भाडाका सवारीधनिको मर्कालाइ बुझेर २४ सै घन्टा सर्भिस दिनेगरी योजना बनाएको बताए । कम्पनीलाइ सातै प्रदेशमा बिस्तार गर्ने लक्ष्य रहेको र भबिष्यमा प्रालीबाट पब्लिक लिमेटेडमा लैजाने आफूहरुको योजना रहेको बताउँदै उनले मैनाबगरको यो अटो भिलेजलाइ स्थायी रुपमा अटो हवमा परिणत गरि पुर्वाधार बिकासमा लगानी गर्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

अटोल्यान्डमा ४० जना बढीले रोजगार पाउने बताइएको छ । यो अटो ल्यान्ड महिन्द्रा गाडीको मर्मत सम्भार सम्बन्धि सेवामा केन्द्रित रहेन गरी संचालनमा आएको हो । यहाँ महिन्द्राका सबै किसिमका गाडीहरुको मर्मत सम्भार तथा डेन्टिङ–पेन्टिङ सम्बन्धि कार्य गरिने अध्यक्ष ज्ञवालीले जानकारी गराए । अटोल्यान्डमा सुदन ज्ञवाली, अभिमन्यू पोख्रेल, नवराज सुवेदी र विष्णुप्रसाद पाण्डेको संयुक्त लगानी रहेको छ ।