नयाँ किया स्पोर्टेज सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 30, 2021

कियाले न्यु जेनेरेसन २०२३ किया स्पोर्टेज एसयूभी सार्वजनिक गरेको छ । किया स्पोर्टेज कम्पनीको सबैभन्दा धेरै बिक्री हुने कारहरू मध्ये एक हो । किया स्पोर्टेजको नयाँ मोडल ट्रेल–रेडी भर्सनको साथै पहिलाको भन्दा धेरै अफ–रोडर भएको छ । कम्पनीले स्पोर्टेजमा बोल्ड डिजाइनको साथै साइज, फिचर र टेक्नोलोजी पनि बढाएको छ । कियाले २०२३ स्पोर्टेज दुई ट्रिममा उपलब्ध गराएको छ, जसमा एक्स लाइन र एक्स प्रो ट्रिम समावेश छ । यसको एक्स–प्रो ट्रिम एड्भेन्चरलाई ध्यानमा राखेर बनाइएको छ । सो ट्रिममा अन्य एलिमेन्टको साथै अल–टेरेन टायरहरू सहित अफ–रोड फिचरको प्रयोग गरिएको छ । कियाले चाँडै नै अल इलेक्ट्रिक स्पोर्टेज एसयूभी पनि प्रस्तुत गर्ने भएको छ । नयाँ कार पुरानो मोडलको तुलनामा १८ सेमी लामो र ह्वीलबेस ७ सेमी लामो रहेको छ ।

२०२३ किया स्पोर्टेजको इन्टेरियर पनि डुअल स्क्रिन ड्यासको साथ पूर्ण रूपमा रिडिजाइन गरिएको छ । फरक फरक फेन्डर प्याटर्न, क्रोम र हाई ग्लास ब्ल्याक ट्रिम तथा उठेको रुफ रेल्सले नयाँ स्पोर्टेजको लुकलाई अफ–रोड ओरिएन्टेड बनाएको छ । सो कारमा बुमेराङ आकारको एलईडी डेटाइम रनिङ लाइट, मस्कुलर आर्च, क्लियर शोल्डर लाइन र एलईडी टेललाइट पनि उपलब्ध रहेको छ । नयाँ स्पोर्टेजका सबै भेरिएन्टमा अल–ह्वील ड्राइभ स्ट्यान्डर्डको रुपमा समावेश गरिएको छ । जसले ग्राउन्ड क्लियरेन्सलाई लगभग एक इन्चले बढाउँछ ।

किया स्पोर्टेजको एक्स लाइन भेरिएन्टमा सामान्य टायरका साथ १९ इन्चको अलोय ह्वील जडान गरिएको छ । तर एक्स प्रो मोडलमा अफ–रोड टायरको साथमा १७ इन्चको टायर उपलब्ध रहेको छ । एक्स प्रो मोडलमा एलईडी फगलाइट, हिटेड विन्डस्क्रिन र भेरिएबल ड्राइभ मोडहरू पनि उपलब्ध रहेको छ । नयाँ किया स्पोर्टेजमा टर्बोचाज्र्डको स्थानमा २.५ लिटर, ४ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ । यो हालको स्पोर्टेज मोडलमा प्रयोग हुने २.४ लिटर इन्जिनभन्दा अलि ठूलो छ ।

यसको इन्जिनले अधिकतम १८७ बीएचपीको पावर जेनेरेट गर्छ । कियाले नयाँ स्पोर्टेजको हाइब्रिड भर्सन पनि पेश गर्ने भएको छ । कारलाई ६ स्पिड अटोमेटिक गियरबक्सलाई विस्थापित गरी नयाँ ४ स्पिड अटोमेटिक गियरबक्स समावेश गर्ने भएको छ ।