फोर्ड एभरेष्टको बुकिङ खुल्ला
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
October 4, 2021

फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.० लिटर बाई–टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त फोर्ड एभरेष्ट अफरोड एसयूभीको बुकिङ खुल्ला गरेको घोषणा गरेको छ । १ करोड ९९ लाख प्रारम्भिक मूल्य तोकिएको फोर्ड एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको भनाइ छ ।
विश्व बजार र एसियाली देशमा फोर्ड एभरेष्ट सबैभन्दा रुचाइने एसयूभी हो । सन् २००३ मा पहिलो पटक बजारमा उपलब्ध गराइएको फोर्ड एभरेष्टको सेकेन्ड जेनेरेसन मोडल २०१५ मा सार्वजनिक भएको थियो । यसमा भएको कम्फर्टेबल राइड क्वालिटीका कारण पारिवारिक यात्रा र अन्य यात्रालाई सधै आरामदायी बनाउने कम्पनीको भनाइ छ ।
नयाँ फोर्ड एभरेष्टमा अल–एलईडी हेडल्याम्प छ, जुन स्क्वायर डिजाइन ल्याम्प क्लस्टरमा राखिएको छ । रातको समयमा २० प्रतिशत बढी उज्यालो प्रदान गर्नका लागि लो तथा हाई बिम दुवै अवस्थाका लागि मिलाइएको छ । त्यसैगरी यसमा भएको आकर्षक डिजाइन, अद्वितीय अफरोडिङ क्षमता र सहजताले गाडीलाई थप सशक्त बनाएको छ ।
फोर्ड एभरेष्टमा भएका विभिन्न प्रविधिले एसयूभीलाई थप सशक्त बनाएको छ । यसमार्फत आवश्यकता अनुसार ह्यान्ड्स फ्रि कल गर्न, ट्राफिक कन्डिसन अनुसार परिवर्तन गर्न र पार्किङ गर्न सकिन्छ । यसमा भ्वाइस कमान्ड सहितका सिंक थ्री, एप्पल कारप्ले थ्री आदि प्रयोग गर्न सकिन्छ । त्यसैगरी एपलिंक, किलेस इन्ट्री र पुस बटन स्टार्ट, रियरभ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प र अन्य प्रविधिको प्रयोग गर्न सकिन्छ ।

फोर्ड एभरेष्टमा एड्भान्स्ड २.० लिटर बाई–टर्बो डिजेल इन्जिन छ, जसले २१३ पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथै एरोडाइनामिक डिजाइन, टर्क अन डिमान्ड, लकिङ गियर डिफ्रेन्सियल, बिग लोड क्यापासिटी, रोल स्टेबिलिटी सहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पुल–ड्रिफ्ट कम्पेन्सेसन सहितको ईपीएएस आदि यसमा भएका थप फिचर हुन् ।
कुनै पनि अफरोड अवस्थामा यसलाई चलाउन सकिने हुनाले त्यसै अनुसारको सुविधा फोर्ड एभरेष्टमा उपलब्ध छन् । टेरेन म्यानेजमेन्ट सिस्टम, इलेक्ट्रोनिक लकिङ रियर डिफ्रेन्सियल, हिल डिसेन्ट कन्ट्रोल र हिल लन्च असिस्ट जस्ता फिचरले यसमा थप सहजता उपलब्ध गराउछ ।
लेदर–अपहोल्स्टर्ड सिट, प्रिमियम इन्टेरियर, ड्युअल क्लाइमेट कन्ट्रोल र ड्यअुल प्यानल सनरुफले कुनै पनि एड्भेन्चरमा एभरेष्टमार्फत आनन्द प्रदान गर्छ । त्यसैगरी ह्यान्ड्स फ्रि लिफ्ट गेट, पावर फोल्ड थर्ड रो सिट, सात एयरब्याग र मल्टी इन्टेलिजेन्ट इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचरले गाडीलाई थप रोमान्चक बनाएको छ ।
जीओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले आउटस्ट्यान्डिङ क्षमता र क्लास लिडिङ फिचर सहितको फोर्ड एभरेष्ट नेपाली बजारमा भित्र्याएर एसयूभी ग्राहकले खोजेको भन्दा पनि विशेष उपहार दिन चाहेको बताए । धेरै नयाँ ग्राहकले चाहेको एसयूभीको रुपमा फोर्ड एभरेष्टले पहिचान कायम गर्ने विश्वास उनले व्यक्त गरे ।
नेपाली बजारमा थाइल्यान्डबाट यो एसयूभी भित्र्याइने र यसको टाइटानियम भेरिएन्ट उपलब्ध हुने कम्पनीको भनाइ छ । यो एभरेष्टको सबैभन्दा माथिल्लो भेरिएन्ट हो । गाडी डेलिभरी भने आगामी सन् २०२२ को पहिलो त्रैमासिकमा मात्र गरिने छ । नेपाली बजारमा उपलब्ध हुने फोर्ड एभरेष्ट २०२२ कै मोडल हुनेछ ।