नेपालमा टाटा नेक्सन ईभी डेलिभरी
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 11, 2021

नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनीले पहिलो चरणमा नेक्सन ईभी गाडीहरु डेलिभरी गरेको छ । नेपालमा ५ सय युनिट भन्दा बढी टाटा नेक्सन ईभी बुकिङ भएको छ र माग अनुसारको नेपाली बजारमा पुर्‍याउन नसकिएको कम्पनी स्रोतले बताएको छ । विश्वव्यापी रुपमा सेमी कन्डक्टरको अभाव भइरहेको र इलेक्ट्रिक गाडीमा प्रयोग गरिने चिपका लागि यो आवश्यक भएकाले अन्य गाडीका साथै नेक्सन ईभी उत्पादनमा समेत यसको प्रत्यक्ष असर देखिएको छ । भारतीय बजारमा समेत करिव ६ महिनासम्म ग्राहकले यो गाडी डेलिभरीका लागि पर्खिनु पर्ने अवस्था भएकोमा नेपालमा पनि यही अवस्था छ ।
सिप्रदी ट्रेडिङका अनुसार हाल सम्मको अवस्थामा पहिले बुकिङ गरेका ग्राहकहरुलाई डिसेम्बर महिना सम्ममा गाडी डेलिभरी दिइने र अब बुकिङ गर्ने ग्राहकले भने सन् २०२२ देखि मात्र गाडी लिन पाउने छन् ।