युनिराइडको टिभिएस राइड कुलेखानीसम्म
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 11, 2021

नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स, टिभिएसको बिक्रेता युनिराइड अटोको आयोजनामा ‘राइड फर अ कज टिभिएस’ सुरु भएको छ । युनिराइडको शोरुम महालक्ष्मीस्थान ललितपुरबाट सुरु भएको राइड कुलेखानीसम्म पुग्नेछ ।

राइडको एक कार्यक्रम बीच प्रमुख अतिथि टिभिएको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवालले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अग्रवालले टिभिएसका ग्राहकबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नका लागि राइड आयोजना गरेकोमा प्रशंसा गरे ।
टिभिएस ग्राहकहरुबीच फेलोसिप बढाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने लक्ष्यले राइड आयोजना गरिएको युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले बताए । राइडलाई सफल पार्न द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक वसन्त लामाले समेत सहकार्य गरेका छन् । राइडमा टिभिएस अपाचेका ३० जना राइडरहरु सहभागी छन् ।

टिभिएस राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडर अभिषेक अधिकारीले बताए । राइडको शुभारम्भ कार्यक्रममा जगदम्बा मोटर्सका जनरल म्यानेजर दीपक रौनियार, डिलर इन्चार्ज सुजित खड्का लगायतको उपस्थिति थियो ।
यसैबीच, राइडकै क्रममा युनिराइड अटोले बाटोमा रहेको बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले सहयोग गरेको सिग्देलले बताए ।