फक्सवागन डिलर मिट २०२१
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 6, 2021

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल प्रालिले डिलर मिट सम्पन्न गरेको छ । होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न उक्त डिलर मिटमा नेपाली बजारमा ‘एसयूभीडब्ल्यु टाइगुन’ भित्रिएसँगै नयाँ युगको सुरुवात हुने घोषणा गरिएको थियो ।
सो अवसरमा पूजा इन्टरनेसनलका सीईओ विवेक बिजुक्छे, बिजनेस हेड विशाल घिमिरे, सिनियर सेल्स म्यानेजर श्याम मालाकार, डिलर इन्चार्ज ऋषि वाइबा र डेपुटी मार्केटिङ म्यानेजर प्रज्वल महर्जनले विभिन्न विषयमा प्रस्तुतिकरण गरेका थिए ।
पूजा इन्टरनेसनलले यही सेप्टेम्बर महिनामै नेपाली बजारमा टाइगुन एसयूभी भित्र्याउने बताएको छ । निकै नै प्रतिस्पर्धि मूल्य सहित नेपाली बजारमा भित्रिने अनुमान गरिएको टाइगुन एसयूभी फक्सवागनको नेपाली बजारलाई उचाईमा पु¥याउने अग्रदूत बन्ने अपेक्षा कम्पनीको छ ।

डिलर मिटमार्फत आगामी दिनमा फक्सवागनका अन्य ब्रान्डका साथै टाइगुन एसयूभी बजारमा कसरी आफ्नो पकड कायम राख्ने, ग्राहकहरुको गुनासोलाई कसरी सम्बोधन गर्ने, बजारमा भइरहेको प्रतिस्पर्धामा आफूलाई कसरी अब्बल सावित गर्ने र फक्सवागन टाइगुनको पोजिसन अबको बजारमा कस्तो हुने सम्भावना छ भन्ने लगायतका विभिन्न पक्षमा आवश्यक जानकारी प्रदान गरी डिलरहरुमा सकारात्मक भावनाको विकास गर्न सक्षम भएको कम्पनीको भनाइ छ ।
डिलरहरुमा हाल भइरहेको कमी र अपर्याप्तको विश्लेषण गरी प्यारेन्ट कम्पनीबाट गरिनु पर्ने सहयोगको वारेमा समेत छलफल भएको थियो । आगामी दिनमा सम्भाव्य सबै बजार क्षेत्रमा प्रवेश गरी टाइगुन एसयूभीलाई कसरी धेरै ग्राहक समक्ष पु¥याउन सकिन्छ भन्ने वारेमा समेत छलफल केन्द्रीत थियो ।

डिलर मिटकै अवसरमा कम्पनीले विर्तामोड, दाङ, नेपालगन्ज र काठमाडौंका दुई स्थान गरी पाँच स्थानमा डिलर नेटवर्क विस्तार गर्ने घोषणा समेत गरेको छ । यी सबै स्थानमा समेत गरी अब नेपालभर फक्सवागनका १२ डिलर नेटवर्क पुग्ने छन्, जसले फक्सवागन ग्राहकका लागि सहज पहुँच प्रदान गर्नेछन् । सो अवसरमा पूजा इन्टरनेसनलका सीईओ विवेक बिजुक्छेले फक्सवागन गाडीमा हुनु पर्ने सबै गुणस्तर भएको टाइगुन एसयूभी यो सेगमेन्टमा गेम चेन्जर बन्ने बताए । एमक्यूबी एओ आईएन प्लेटफर्ममा बनेको र निकै नै सावधानीपूर्वक तयार गरिएको सो गाडीले एसयूभीको संसारलाई पुनर्परिभाषित गर्ने उनले बताए ।