नेक्सन ईभी म्याक्स, ४०० भन्दा बढी रेन्ज दिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 19, 2022

टाटाले केही दिन पहिले सार्वजनिक गरेको लङ रेन्जको नेक्सन ईभी समेत भनिएको सो इलेक्ट्रिक कारले आगामी दिनमा इलेक्ट्रिक कारको क्षेत्रमा नयाँ चहलपहल कायम गर्ने अनुमान गरिएको छ । हाल नेपाली बजारमा उपलब्ध ईभीहरुलाई यसले कडा टक्कर दिनेछ । यसमा भएका विभिन्न विशेषताका कारण यसले आगामी दिनमा ‘बेस्ट इलेक्ट्रिक कार’ को पहिचान कायम गर्ने अपेक्षा गरिएको छ ।

रेन्ज
नेक्सन ईभी म्याक्समा ठूलो ब्याट्री प्याक दिइएको छ, जुन नेक्सन ईभी भन्दा ३० प्रतिशत बढी क्षमताको छ । एक पटक फुल चार्ज गर्दा यसले ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यसको वास्तविक रेन्ज करिव ३३० किलोमिटर हुन सक्छ । यद्यपि यो हाल उपलब्ध नेक्सन ईभीको रेन्ज भन्दा धेरै हुनेछ ।

डिजाइन
नेक्सन ईभी म्याक्स बाहिरबाट लगभग नेक्सन ईभी जस्तै देखिन्छ । नयाँ कारको बडीमा कुनै परिवर्तन छैन, जसले यो नेक्सन ईभीको लङ रेन्ज भर्सन हो भनेर देखाउँछ । कारमा ठूलो ब्याट्री प्याक भए पनि गाडीको बुट स्पेस वा ग्राउन्ड क्लियरेन्समा कुनै कमी आएको छैन । यसबाहेक, नयाँ कलर विकल्प पनि उपलब्ध छ ।

फास्ट चार्जिङ
चार्जिङका लागि नेक्सन ईभी म्याक्समा एक अप्सनल ७.२ किलोवाटको एसी फास्ट चार्जर दिइएको छ, जसको सहयोगले ६ देखि ७ घण्टा भित्र कुनै पनि स्थानमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी यसमा स्ट्यान्डर्ड ३.३ किलोवाट चार्जर पनि उपलब्ध छ । यसको अलावा ५० किलोवाट डीसी फास्ट चार्जरबाट एक घण्टा भन्दा कम समयमै चार्ज गर्न सकिन्छ ।

एड्भान्स फिचर
नेक्सन ईभी म्याक्स दुई भेरिएन्ट एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरीमा उपलब्ध छ । ग्राहकले दुई मध्ये कुनै एकलाई छनोट गर्न सक्छन् । यद्यपि भेरिएन्ट अनुसार फ्रन्ट सिट कुलिङ, ज्वेल आउटलाइन सहितको डायल, इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर र वायरलेस फोन चार्जिङ जस्ता फिचर उपलब्ध हुन्छ ।

पावर र स्पिड
नेक्सन ईभी म्याक्सले १४३ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त ईभीले ९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको स्पिड लिन सक्छ । यो हाल उपलब्ध कुनै पनि इलेक्ट्रिक कारको स्पिड भन्दा धेरै हो ।