विज्ञ जनशक्ति आफ्नै नगरभित्र तयार गर्ने योजना बनाउँछु
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 11, 2022

भूषण कुमार श्रेष्ठ,

मेयर उम्मेदवारपनौती नगरपालिका 

बिबेकशिल साझा पार्टि

 

 

आगामी स्थानीय निर्वाचनमा पनौती नगरपालिकाको मेयर पदका उम्मेदवार भूषणकुमार श्रेष्ठको घोषणापत्र

१. म विज्ञहरूको स्थायी समूह राख्छु । जसमा जनस्वास्थ्य, शिक्षा, अर्थशास्त्र, कृषि, वातावरण, इतिहास, भूगोल, कला, संस्कृति, पर्यटन, राजनीतिजस्ता विषयमा राम्रो ज्ञान भएकाहरू पर्नेछन् ।

२. मैले आफ्नो नगरका लागि ६ ‘स’ अर्थात् शिक्षा, सुन्दर, समृद्ध, सभ्य, सुसंस्कृत र स्वस्थ नगर बनाउनका लागि पाँच वर्षको लक्ष्यसहितको प्रस्ट कार्यक्रम ल्याउँछु । जसमा नगरको वर्तमान अवस्था र शो कार्यक्रमका लागि आवश्यक स्रोत के–कति हो र कसरी जुटाउने (आन्तरिक र बाह्य अनुदान, ऋण, जनश्रम आदि) प्रस्ट खुलाउँछु ।

३. मैले आफ्नो कामको ७५ प्रतिशत समय योजनाको अध्ययन–अनुगमन, मूल्यांकन तथा १० प्रतिशत जनसम्पर्क र १० प्रतिशत समय स्व–अध्ययनमा लगाउनेछु । उद्घाटनजस्ता अनुत्पादक कामलाई छाडिदिनेछु ।

४. नगरको कर्मचारी भर्नाका लागि नगरभित्रै गैरराजनीतिक विज्ञहरू सम्मिलित शक्तिशाली समिति बनाई योग्यहरूलाई मात्र छनोट गर्नेछु ।

५. हरेक वर्ष आफ्नो नगरभित्र पदीय दायित्व पूरा गर्ने कर्मचारी र शिक्षकलाई इमानदार राष्ट्र सेवक तथा नियमित कर तिर्ने र कानुन पालना गर्ने र गराउने समाजसेवीहरूलाई उत्कृष्ट नगर पदकले सम्मान गर्नेछु ।

६. स्रोत पहिचान गरी आफ्नो जिल्लाबाट श्रम बेच्न खाडी, मलेसिया जानेहरूलाई स्वदेश फर्काएर व्यवसाय गर्न वा रोजगारी गर्न दिने योजना बनाउनेछु ।

७. आफ्नो नगरलाई आवश्यक पर्ने विज्ञ जनशक्ति आफ्नै नगरभित्र तयार गर्ने योजना बनाउँछु ।

८. आफ्नो नगरभित्र उपलब्ध स्रोतहरू पहिचान गरी स्रोत नक्सा बनाउने र सो स्रोतहरू परिचालन गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउनेछु ।

९. नगरभित्रका १६ देखि ६५ वर्षसम्मका हरेक व्यक्तिलाई हरेक महिना एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने विवेकी नीति ल्याउनेछु । विदेशमा बस्ने नगरभित्रका आप्रवासीहरूलाई महिनाको एक दिनको पारिश्रमिक नगर विकासका लागि खर्च गर्नुपर्ने योजना ल्याउनेछु ।

१०. नगरभित्रको वातावरण बिग्रिन नदिन आगामी २५ वर्षको जनसंख्या र उनीहरूले निष्कासन गर्ने फोहरको आकलन गरी दीर्घकालीन फोहोरमैला व्यवस्थापन योजना ल्याउनेछु ।

११. आगामी २५ वर्षका लागि जिल्लालाई आवश्यक पर्ने खानेपानी, जंगल, विद्युत्, सडक, विद्यालय, खेलमैदान, स्वास्थ्य सेवा, अन्न, फलफूल, माछा, मासु, तरकारी, दूध आदिको आवश्यकता आकलन गरी शो कुरा आफ्नै नगरभित्र उपलब्ध गराउने र नगरलाई हरेक कुरामा आत्मनिर्भर बनाउने योजना ल्याउनेछु ।

१२. आफ्नो नगरभित्रको पर्यटकीय क्षेत्रको पहिचान गरी शो क्षेत्र विकासको गुरुयोजना बनाई २५ वर्षभित्र आफ्नो जनसंख्याभन्दा बढी पर्यटकको संख्या भित्र्याउने योजना बनाउनेछु ।

१३. आफ्नो नगरभित्र आगामी २५ वर्षभित्र स्थापना गर्न सम्भव र आवश्यक उद्योगको सूची तयार गरी शोका लागि औद्योगिक इलाका बनाउनेछु ।

१४.       आगामी पाँच वर्षमा नगरमा एक–एकवटा सुविधासम्पन्न अस्पताल, कलेज, बहुप्राविधिक शिक्षालय, सार्वजनिक पुस्तकालय, बालउद्यान, सार्वजनिक उद्यान, खुला स्थान, सरकारी पाहुना घर आदि बनाउनेछु ।

१५. नगर विकासका लागि आवश्यक बजेट अनुमान गरी रकम आम्दानी गर्न राजस्व परिचालन योजना ल्याउनेछु ।

१६. आफ्नो नगरभित्र विद्यमान भाषा–संस्कृति, कला साहित्यको पहिचान गरी सोको विकासका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउँछु ।

१७. नगरको आफ्नै दमकल, एम्बुलेन्स, शववाहन, नगर बस आदि व्यवस्था गर्नेछु ।

१८. आफ्नै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरी हरेक नागरिकको लागि बिमाद्वारा सुरक्षित गर्नेछु ।

१९. हरेक जिल्लावासीलाई न्यूनतम पनि १८ वर्ष वा १२ कक्षासम्म अनिवार्य शिक्षा लागू गर्नेछु ।

२०. खराब कर्मचारी र शिक्षकलाई तुरुन्तै कारबाही गर्नेछु ।

२१. विदेशमा रहेका नगरवासीलाई नगरभित्रका योजनामा लगानी गर्न प्रोत्साहित गर्ने र उहाँहरूलाई लगानी गर्ने वातावरण तयार गर्ने योजना निर्माण गर्नेछु ।

२२. विदेशमा रहेका नेपालीहरू फर्किएर स्वदेशमै काम गर्न चाहेमा सो अवसर दिन योजना बनाउनेछु ।

२३. नगरका हरेक परिवारलाई सहकारीमा र एउटा व्यवसायमा आबद्ध गर्ने योजना बनाउनेछु ।

२४. आफ्नो नगरलाई प्रदूषणमुक्त बनाउन प्रभावकारी योजना ल्याउनेछु ।

२५. नगरका हरेक घरमा शौचालय जोडेर गोबर ग्याँस प्लान्ट जडान गर्ने योजना ल्याउनेछु ।

२६. मेरो अध्यक्षतामा नगरमा आकस्मिक कोष खडा गरी सामाजिक सेवाका लागि आवश्यक धन संकलन र अत्यावश्यक पर्दा परिचालन गर्नेछु ।

२७. महिनाको एकपटक नागरिक भेला गरी नगरभित्रका महत्वका विषयमा सार्वजनिक बहसको आयोजना गर्नेछु ।

२८. नगरभित्रका हरेक नागरिकलाई नगर विकासमा योगदान दिन चाहे सोका लागि वातावरण तयार गर्न योजना बनाउनेछु ।

२९. हरेक हप्ता नगरभित्रका काम कारबाहीको प्रगतिका बारेमा सूचना प्रकाशित गर्नेछु ।

३०. नगरभित्रका सम्पदा र स्रोतहरूका बारेमा नियमित अध्ययन अनुसन्धान गर्नेछु ।

३१. नगरभित्रका ज्येष्ठ नागरिक अवकाश प्राप्त व्यक्तिहरूको क्षमता र योग्यता पहिचान गरी त्यसको परिचालन गर्न योजना बनाउनेछु ।

३२. नगरभित्र खेलकुदलाई अगाडि बढाउनका लागि कभर्ड हल र रंगशाला बनाउनेछु ।

३३. पनौती नगरका सबै वडा कार्यालयहरूलाई निजी कार्यालयजस्तो आकर्षक बनाउने र कार्यालयलाई चुस्त दुरुस्त बनाउन आटी विभाग थप्नेछु ।

३४.       कार्यालयमा आउने कसैले पनि साना–साना फोटोकपी, नागरिकताजस्ता कागज पत्रले काम नरोकियोस् भनेर उपकरणहरू जडान गर्नेछु ।

३५. नगरभित्र वधशालाको व्यवस्था गर्नेछु ।

३६. म एक रुपैयाँ र एक दिन पनि भ्रष्टाचार गर्नेछैन र सरकारी सुविधा पनि केही लिनेछैन ।

३७. म बालबालिका प्रयोग गरेर चुनाव प्रचारप्रसार गर्ने छैन ।

३८. पनौती नगरपालिकालाई नेपालकै नमुना नगरपालिकाको रूपमा स्थापित गर्न पनौतीबाट काठमाडौं चल्ने सबै सार्वजनिक बसलाई विद्युतीय सवारीको रुपमा रुपान्तरण गर्नेछु ।

३९. राजधानी नजिकैको नगरपालिका भएकाले चलचित्र छायांकनका लागि उपयुक्त नगरपालिका बनाउनेछु ।

४०. हरेक वडामा ज्येष्ठ नागरिकका लागि डे केयर सेन्टर खोल्नेछु र नगरभित्र सुविधासम्पन्न वृद्धाश्रम खोल्नेछु ।

४१. पनौती नगरभित्र पर्ने पिच सडकको संरक्षण गरेर एक पटकको पिच सधैंको पिच भन्ने नारालाई स्थापित गर्नेछु ।

४२. अव्यवस्थित पार्किङलाई स्मार्ट पार्किङका रूपमा रूपान्तरण गर्नेछु ।

४३. नगरलाई जाममुक्त बनाउनेछु ।

४४. नगरभित्रका कृषकलाई आर्थिक रुपमा सक्षम बनाउनेछु । बँदेल, बाँदर आदिद्वारा बाली नष्ट हुँदा उचित क्षतिपूर्तिको व्यवस्था गर्नेछु ।

४५. कुनै पनि पार्टीको मानिसलाई पक्षपात गर्ने छैन । विज्ञताको आधारमा सबैलाई काम बाँडफाँड गर्नेछु ।

४६. सबैलाई सूचनाको हक प्रयोग गर्न लगाइनेछ ।

४७. राष्ट्रिय आविष्कार केन्द्रको शाखा हाम्रै नगरमा खोल्नेछु ।

४८. सबै वडाबाट नगरपालिका पुग्ने निःशुल्क बस सेवा सञ्चालन गर्नेछु ।

४९. एमएमएस पठाउने पुरस्कार पाउने आकर्षक योजना ल्याउनेछु ।

५०. रगत व्यवस्थापनका लागि रेडक्रसकै हैसियत हुने गरी युवा जोसलाई पनि स्थान दिनेछु ।

५१. पशु हक र अधिकारका लागि छलफल र आवश्यक बजेट विनियोजन गर्नेछु ।

५२. विश्वसम्पदा सूचीका सांस्कृतिक धरोहर संरक्षण गर्न विज्ञ टोली गठन गर्ने र बजेट विनियोजन गर्नेछु ।

५३. नगरका पाँचवटा सरकारी स्कुललाई थ्री–स्टार होटलसरहको सुविधायुक्त स्कुल बनाउनेछु ।

५४. स्कुलहरूमा प्रभावकारी अनुगमन गरेर शिक्षाको स्तर बढाउनेछु ।

५५.       दस जोड दुई सक्नेबित्तिकै विदेश जान खोज्ने विद्यार्थीलाई नयाँ प्राविधिक शिक्षा दिएर गाउँमै उद्यमी बनाउने छु ।

५६. हाल युवादेखि वृद्धसम्म नैराश्यता छाएको छ । त्यस प्रकारको नैराश्यता हटाउन र उहाँहरूलाई नयाँ जोस–जाँगर भर्न मोटिभेसन क्लास सञ्चालन गर्नेछु ।

५७. ट्रक ट्रिप्परका कारण धुलाम्मे भएका घरहरूमा रङ्ग लगाउने व्यवस्था गर्नेछु ।

५८. नगरभित्र सञ्चालनमा आएका ट्रिप्पर र स्थानीय बासिन्दाबीच सुमधुर सम्बन्ध स्थापित गर्न समन्वय गर्नेछु ।

५९. नगरवासीका समस्या तथा गुनासोहरू संकलन गर्नका लागि उजुरी पेटिकाको व्यवस्था गर्नेछु ।