नेपालमा मेन्टिनेन्स फ्रि ब्याट्रीको माग बढ्दै
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 5, 2022

नेपालमा अटोमोटिभ र मोटरसाइकल दुवै ब्याट्रीको बजार विस्तार हँुदै गएको छ । सामान्यतः ब्याट्रीलाई यसको प्रयोगका आधारमा अटोमोटिभ र औद्योगिक गरी दुई सेगमेन्टमा विभाजन गर्ने गरिन्छ । अटोमोटिभमा पनि मोटरसाइकल ब्याट्रीको वर्गीकरण छुट्टै हुने गरेको छ । त्यस्तै औद्योगिक ब्याट्रीलाई पनि ट्युबलर र सोलार गरी भिन्न दुई भागमा विभाजन गरिँदै आएको छ ।

बजार बिस्तार हुँदै जाने क्रममा पछिल्लो समय नयाँ प्रबिधीका ब्याट्री भित्रिने क्रम समेत बढिरहेको छ । केही बर्षअघिसम्म बजारमा सुख्खा यानकी ड्राई सेल ब्याट्रीको माग उच्च रहँदै आएको थियो । यस्ता ब्याट्रीमा समयसमयमा एसिड थपिरहनु पर्ने हुन्थ्यो । जुन झन्झटिलो समेत थियो ।

त्यसलाई सहज बनाउन पछि बजारमा मेन्टिनेन्स फ्रि ब्याट्री भित्रियो । अहिले यस प्रकारका ब्याट्रीले बजारमा कब्जा जमाइरहेको छ । मेन्टिनेन्स फ्रि ब्याट्रीमा कम्पनीबाटै एसिड भरिएर आउने हुनाले एसिडको समाप्तिसँगै ब्याट्रीको आयु पनि समाप्त हुन्छ । तर कतिपय मेन्टिनेन्स फ्रि भनिएका ब्याट्रीहरु सेमी मेन्टिनेन्स फ्रि पनि हुने भएकाले सामान्य समस्या आएमा प्रयोगकर्ता आफैंले खोलेर पनि मर्मत गर्न सक्छन् । कतिपय ब्याट्री भने खोल्नै नमिल्ने पनि हुन्छन् । खोलेर मर्मत गर्न नसकिने ब्याट्रीलाई सिल्ड मेन्टिनेन्स फ्रि पनि भनिन्छ ।

मेन्टिनेन्स फ्रि ब्याट्री लामो समयसम्म चल्ने र उच्च पर्फमेन्सका हिसाबले उत्तम भएका कारण ग्राहकको आकर्षण यी ब्याट्रीमा बढ्दै गएको हो । सवारीसाधनको आकार, क्षमता र सीसीअनुरुप गाडीमा विभिन्न क्षमताका ब्याट्रीको प्रयोग गर्ने गरिन्छ ।

उता मोटरसाइकलमा प्रयोग हुने ब्याट्रीमा पछिल्लो प्रविधिको भीआरएलए (भल्ब रेगुलेटेड लिड एसिड) ब्याट्रीको माग बढ्दै गएको छ । यी ब्याट्री प्राविधिक हिसाबले पनि गुणस्तरीय भएका कारण उच्च पर्फमेन्सका लागि उपयुक्त मानिन्छन् । अन्य मोटरसाइकल ब्याट्रीको तुलनामा यी ब्याट्रीको आयुसमेत लामो हुन्छ । बजारमा यस्ता ब्याट्रीको माग बढेसँगै व्यवसायीले समेत भीआरएलए ब्याट्री आयातमा जोड दिएका छन्