विद्युतीय सवारीको आयात तेब्बर, व्यवसायीहरु उत्साहित
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
August 5, 2021

नेपालमा विद्युतीय सवारीसाधनको अटो व्यवसायीहरु उत्साहित भएका छन् ।
इभी सवारीसाधनको आयात गत आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार महसुल बढाएपछि सुरुका दुई चौमासिकमा विद्युतीय सवारीको आयात ठप्प बनेको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्षमध्ये गत आवमा धेरै सवारी आयात भएको देखिन्छ । आव ०७५/७६ मा ९ करोड ५६ लाख ५७ हजार रुपैयाँ बराबरका २ सय ९४ थान विद्युतीय सवारीसाधन आयात भएको तथ्यांक छ । त्यस्तै आव ०७६/७७ मा ३९ करोड ७६ लाख ६५ हजार रुपैयाँका ५ सय ७१ थान विद्युतीय सवारीसाधन भित्रिएका थिए । यो संख्या आव ०७७/७८ मा बढेर २ हजार २ सय १ पुगेको छ । जसको लागत ९५ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबर छ । भन्सारबाट विद्युतीय बस, माइक्रोबस, ई–रिक्सा, मिनिबस, जिप, कार र भ्यान भित्रिएका छन् । यी विद्युतीय सवारीसाधन चीन, भारत र अमेरिकालगायत मुलुकबाट आयात हुने गरेको छ ।
पहिला यस्ता सवारी आयातमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो । बढाइएको उक्त भन्सार महसुल चालु वर्षको बजेटमार्फत हटाइएपछि मूल्य पनि घटेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार विद्युतीय सवारीको बजार बढ्दो छ । ‘नेपालमा मात्र नभएर संसारभरि नै यसको खपत बढेको छ,’ उनले भने, ‘भन्सार छुट दिएर यसको खपत बढाउने लक्ष्य सरकारले लिएको छ ।’ पूर्वाधार बनिसकेपछि यसको माग अझै बढी हुने उनको दाबी छ ।
Email: info@eautonepal.com