नयाँ प्रविधि सहित होन्डा ग्राजिया
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 20, 2021

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले औपचारिक रुपमा होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च गर्नुका साथैं बिक्री प्रारम्भ भएको छ ।
नेपाली बजारमा पहिले देखि नै होन्डा ग्राजिया उपलब्ध छ । तर अब उपलब्ध हुने बीएस६ इन्जिन सहितको होन्डा ग्राजियाको लुक पहिले भन्दा केही फरक छ । यसमा आकर्षक एलईडी र फ्रन्ट एप्रोनभन्दा माथि प्रयोग भएको एलईडी हेडल्याम्पले पहिलेको तुलनामा केही नयाँ लुक्स सकिन्छ । साइड बडी प्यानलका साथै पछाडिको ब्रेक लाइटको भाग पहिलेभन्दा आकर्षक देखिन्छ ।
होन्डा ग्राजियामा बीएस६ इन्जिनयुक्त १२४ सीसीको इन्जिन छ, जसले ६००० आरपीएममा ८.२५ पीएस पावर र ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यसको दुवै पांग्रामा ड्रम ब्रेक रहेको छ । १०८ किलोग्राम तौल भएको यो स्कुटरमा ट्युबलेस टायर र अलोय ह्विल रहेको छ । ५.३ लिटरको इन्धन ट्यांकी भएको स्कुटरमा ११६७ एमएमको सिट हाइट छ ।
यो स्कुटरमा १२५ सीसी होन्डा इको टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा इनह्यान्स स्मार्ट टेक्नोलोजिका साथै एसीजी स्टाटर मोटर रहेको छ ।

यसमा नयाँ इन्स्ट्रुमेन्ट कल्स्टर दिइएको छ । रियल टाइम माइलेज, एभरेज माइलेज, डिस्ट्यान्स टु इम्पिटी जस्ता फिचर थप भएको छ । यसका साथै साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन कट अफ जस्ता स्मार्ट प्रविधि पनि यसमा छन् । एलईडी स्प्लीट पोजिशन ल्याम्प, पहिलेभन्दा बढी ग्राउण्ड क्लियरेन्स र जेट इन्सपायर रियर विङकर्स रहेको छ यसले स्कुटरको रियर भ्यु आर्कषक बनाएको छ ।
बीएस६ इन्जिनयुक्त होन्डा ग्राजिया १२५ मा फुल डिजिटल मिटर रहेको छ, जसमा रियल टाइम माइलेज थाहा पाउन सकिन्छ । यसमा स्प्लिट एन्ड पोजिसन ल्याम्प तथा हेडल्याम्प रहेको छ । यो स्कुटरमा १७१ एमएम सम्मको ग्राउन्ड क्लियरेन्स रहेको छ र होन्डाले यसलाई बेस्ट इन क्लास भनेको छ । स्कुटरमा भएको आइडलिङ स्टप सिस्टमले इन्धन बचाउन सहयोग गर्छ ।

नेपालमा ग्राजिया स्कुटर दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको स्ट्यान्डर्ड भर्सनको मूल्य २ लाख ६९ हजार ९ सय र डिलक्स भर्सनको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।