भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत आगामी साउन १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।
नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ गरिसकेका केही ग्राहकहरुलाई साउन १२ गते देखि नै र त्यसपछि क्रमशः नेक्सन ईभीको विक्री वितरण गरिदैं जाने कम्पनीले बताएको छ ।
टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण ‘इकोसिस्टम’ विकास गर्ने लक्ष्य राखेको बताएको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।
कम्पनीले आधिकारिक रुपमा मुल्य सार्वजनिक नगरे पनि करिब ३७ लाखदेखी ४२ लाखसम्म पर्ने अनुमान गरिएको छ ।
नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइने छ ।