अबको भविष्य भने कै इलेक्ट्रिक गाडी हो
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 16, 2021

राजन रायमाझी, अध्यक्ष
दिगो इलेक्ट्रिकल भेइकल

दिगो इलेक्ट्रिकल भेइकल एउटा ब्रान्डिङ गरिएको संस्था हो । नेपालमा परिवर्तन गरौं भन्ने सोचेर नै यो अभियान थालेका हौं। हाम्रो अर्बौं रुपैयाँ तेलमा खर्च हुँदै आएको छ। भारतबाट हामीले तेल ल्याउँछौं। त्यसबाट वातावरण प्रदूषणसमेत भइरहेको हुन्छ भने त्यसले हाम्रो आर्थिक क्षेत्रको आयात तथा निर्यातको सन्तुलनलाई पनि प्रभावित गरिरहेको छ। यसलाई के गर्दा रोक्न सकिन्छ भनेर हामीले यो अभियान थालेका हौं। नेपालमा इलेक्ट्रिक भेइकलहरू बनाउन सक्यौं भने उत्पादन गरेको बिजुली प्रयोग गर्न सक्छौं। यसले हाम्रो अर्थतन्त्र बाहिर जान पनि रोकिने भयो अर्काे कुरा वातावरण प्रदूषण पनि कम हुने भयो । नेपाल सरकारको नियमनानुसार दर्ता भएर हामीले वितरकको काम गर्दै आइरहेका छौं। हामीले एउटा मिसन लिएर यो व्यवसाय सुरु गरेका हौं।

इलेक्ट्रिक भेइकलको नेपालमा इतिहास ट्रली बस सेवादेखि सुरु भएको हो तर, त्यो सफल हुन सकेन्। त्यसपछि पनि विभिन्न कम्पनीले इलेक्ट्रिकल गाडीलगायतका साधनहरू भित्र्याएका थिए। ६÷७ वर्षअघि सरकारले इलेक्ट्रिक भेइकललाई प्रवद्र्धन गर्नका लागि एउटा नीति ल्याएर आएको थियो। यसमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क घटाएर यसको प्रयोग बढाउनु सरकारको उद्देश्य रहेको थियो। त्यसपछि नै हामीले यो ग्रुप सुरु गरेका हौं। ग्रुप अफ कम्पनीको नाम चाहिँ दिगो हो। यसअन्तर्गत अरू कम्पनीहरू छन्। हाम्रा पाँचवटा कम्पनीहरू छन्। यसअन्तर्गत रहेका विभिन्न कम्पनीहरूले छुट्टाछुट्टै काम गर्छन्। चार्जिङ गर्ने देखि लिएर विभिन्न कामहरू यस अन्तर्गत रहेका कम्पनीले गर्छन्।

अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रिक गाडी पाउन पनि गाह्रो छ, पाए पनि महँगा हुन्छन्। नेपालमा महँगो खालको गाडी बेचेर हामीले ल्याउन खोजेको परिवर्तन पनि ल्याउन सकिँदैन भन्ने लाग्यो। पेट्रोल, डिजेलभन्दा पनि इलेक्ट्रिक गाडी महँगो हुन्छ, त्यसको बनावट र ब्याट्रीलगायतका कारणले। भन्सार सस्तो भएको हुनाले मात्रै केही सहज भएको छ।

यो व्यवसाय सुरु गर्ने समयमा मानिसहरूमा इलेक्ट्रिक गाडीको दिगोपनाको विषयलाई लिएर एक खालको सोचाइ थियो। ब्याट्री पनि कम चल्छ लगायतका सोच थियो। तर, अहिले प्रविधिले निकै फड्को मारिसकेको छ।

अहिले बजारमा ५ सयदेखि ७ सय किलोमिटरसम्म चल्ने गाडीहरू आइसकेका छन्। ब्याट्रीको समस्या पनि धेरै समाधान भएको अवस्था छ । दुई, तीन वर्षअघिको भन्दा अहिले ग्राहकहरू नै धेरै सचेत भइसकेका छन् । हाम्रोमा गाडीको गुणस्तरभन्दा पनि त्यसको मूल्यमा अलि बढी ध्यान दिने गरेकाले पनि टिकाउ हुँदैन भन्ने पनि छ। हामीले दुई पाङग्रेको कारोबार गर्दैनौं । हामीसँग कार, भ्यान, कार्गो पिकअप, बसलगायत गरी नौ थरीका सवारीसाधनहरू रहेका छन्। हामीले तीन वर्षको वारेन्टी नै दिएका हुन्छौं। ब्याट्रीको आयु पनि राम्रो रहेको छ। यसको टिकाउ पेट्रोल, डिजेल गाडीभन्दा राम्रो रहेको छ। सडकको अवस्था राम्रो भएमा कम्तीमा दस वर्ष चल्छ भन्ने हाम्रो बुझाइ हो।

सेवाग्राहीहरूले निकै रुचाइ रहनुभएको छ, सरकारले भन्सार दर र अन्तःशुल्क घटाइदिएका कारणले पनि मानिसहरूको चाहना बढेको छ। अहिले धेरै मानिसहरू आइरहनुभएको छ । मेरो विचारमा अबको भविष्य भनेकै इलेक्ट्रिक गाडी नै हो ।
लकडाउनको समयमा गाडीको बिक्रीवितरणमा केही कमी भएको थियो। त्यो बेलामा पनि पाँचवटा गाडीहरू बिक्री भएको छ । फ्रन्टलाइनमा काम गर्नेले त्यो बेला किन्नुभएको थियो । अहिले महिनामा सबै किसिमका गाडीहरू गरेर १५÷२० वटा बिक्री गर्दै आइरहेका छौं। पिकअपदेखि लिएर बस, कारहरू बिक्री वितरण भइरहेको छ ।