सुरक्षाका लागि कस्तो हेल्मेट प्रयोग गर्ने ?
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 11, 2021

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ । नेपाली बजारमा विभिन्नआकार, प्रकारका हेल्मेट उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो रुचि, आय र मोटरसाइकल अनुसारको हेल्मेटको छनोट गर्छन् ।
हेल्मेट प्रयोगकोे प्राथमिक उद्देश्य सुरक्षा नै हो । तर, हाल युवावर्गले हेल्मेटमा क्यामरा जडान गरेर यसलाई राइडिङ ताजको रूपमा झैं पनि प्रयोग गर्न थालेका छन् । मोटरसाइकलबाटै लामो टुरको चलन बढेकाले हेल्मेटमा एक्सन क्यामरा जडान गरेर राइडिङ गर्ने क्रम बढ्दो छ । यसरी, सुरक्षाका लागि मात्र नभई फेसनेबल देखिन पनि आकर्षक राइडिङ हेल्मेटको क्रेज बढ्दो छ ।
मापदण्ड अपनाएर उत्पादन भएको हो कि होइन ? र, आधिकारिक कम्पनीको हो कि होइन ? यी सबै पक्षलाई मध्यनजर गर्दै हेल्मेट छनोट र खरीद गर्नुपर्ने हेल्मेट्स नेपालका मार्केटिङ म्यानेजर श्रीकेश शाक्य बताउँछन् ।
यद्यपी स्टाइलिस देखिने सबै हेल्मेट राम्रा हुँदैनन् ।

कसरी चिन्ने त राम्रो हेल्मेट ?
बजारमा उपलब्ध हेल्मेट सर्टिफाइड हो कि होइन, हेल्मेट छान्दा केमा ध्यान दिने ?
हेल्मेट छान्दा यसको सेल, भाइजर, प्याडिङ, पट्टा र क्लिप यी सबैको राम्रो ज्ञान हुनु जरुरी छ ।

सेल
हेल्मेटको बाहिरी भागमा हुने कडा भागलाई सेल भनिन्छ । सेल बनाउन प्रयोग हुने सामग्रीलाई तीन भागमा विभाजन गरेर बुझ्न सकिन्छ । ती हुन्, पोलिकाब्रोनेट, फाइबर ग्लास र कार्बन फाइबर ।
कार्बन फाइबर सबैभन्दा बलियो, टिकाउ, एकदमै हलुका र महंगो हुन्छ । कार्बन फाइबरले बनेको सबैभन्दा सस्तो हेल्मेट नै ३० हजार रुपैयाँभन्दा माथि पर्छ ।
पोलिका ब्रोनेट भन्नाले सामान्य प्लास्टिक भनेर बुझ्न सकिन्छ । सबैभन्दा सस्तो हेल्मेटमा प्रयोग गरिने सामग्री पोलिका ब्रोनेट हो । त्यस्तै फाईबर ग्लासलाई मिड रेन्जका हेल्मेटहरूमा प्रयोग गरिएको हुन्छ । फाइबर ग्लास भने पोलिकाब्रोनेट भन्दा केही गुणस्तरीय, महंगो र हलुका हुन्छ ।
कार्बन फाइबर भने महंगा हेल्मेटहरूमा प्रयोग गरिने उच्च गुणस्तरीय सामग्री हो ।

भाइजर
हेल्मेटमा प्रयोग भएको सिसा भाइजर हो । यसले घाम, धुलो जस्ता प्रभावबाट राइडरलाई सुरक्षा दिन्छ । हाल बजारमा उपलब्त्र हेल्मेटहरूमा भाइजर पनि दुई किसिममा जडान भएको पाइन्छ । ती हुन्, एक्स्टर्नल र इन्टर्नल भाइजर ।
एक्स्टर्नल भाइजर हेल्मेटको बाहिरी भागमा जडान भएको हुन्छ । इन्टर्नल भाइजर भने हेल्मेटको भित्री भागमा जडान भएको हुन्छ । एक्स्टर्नल भाइजर ठूलो हुन्छ भने इन्टर्नल भाइजर सानो चस्मा आकारको हुन्छ ।
हेल्मेटको भाइजरहरूमा पनि हाल एन्टिफग लेन्स भनेर आउने गर्छ । यस किसिमको भाइजरमा स्प्रेको प्रयोग गरिएको हुन्छ, जुन करिब ६ महिनाजति मात्र टिक्छ । यद्यपी पिन लक प्रणाली भएको भाइजरमा भने एउटा छुट्टै लेयर नै हुन्छ । सो भागमा फग वा बाफ बस्दैन । यो भने करीब १ वर्षसम्म चल्छ ।

प्याडिङ
हेल्मेटको भित्रि भागमा राखिएको नरम भाग प्याडिङ हो । यो भाग गुणस्तरीय फोमले बनेको हुन्छ । सस्तो हेल्मेटमा सो भाग केही कडा हुन्छ भने मिड रेन्ज र हाइ रेन्जमा नरम र गुणस्तरीय हुन्छ । प्याडिङले हेल्मेटलाई आरामदायी बनाउँछ । साथै प्याडिङले दुर्घटना भएमा ठक्करको प्रभाव आफूमा लिई टाउकोलाई विशेष सुरक्षा दिन्छ । कडा र कम गुणस्तरको हेल्मेट भने दुर्घटनाको समयमा टाउकोमा घुम्ने र फुस्कने हुन सक्छ ।

पट्टा र क्लीप
हेल्मेटमा प्रयोग हुने पट्टा र क्लीप नै हेल्मेटको सबैभन्दा महत्वपूर्ण बस्तु हो । दुर्घटनाको समयमा पट्टा र क्लीपले हेल्मेटलाई राइडरको टाउकोबाट फुस्कन नदिने हुँदा राम्रो गुणस्तरको पट्टा र क्लीपलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ ।
बजारमा हेल्मेटमा प्रयोग हुुने पट्टा र क्लीपमा पनि ¥याचेट पट्टा सर्वाधिक प्रयोग हुने मध्येको एक हो । सस्ता र केहीमिड रेन्ज हेल्मेटहरूमा ¥याचेट पट्टाको प्रयोग हुन्छ । यद्यपि डबलडि रिंग पट्टा भएको हेल्मेट मिड रेन्ज र हाइ रेन्जको हेल्मेटहरूमा प्रयोग हुन्छ । ¥याचेट पट्टाभन्दा पनि डिरिंग पट्टा भएको हेल्मेटलाई सुरक्षाको हिसाबले उत्कृष्ट मानिन्छ ।

कस्तो हेल्मेट किन्ने ?
हेल्मेट प्रयोगकर्ताले हेल्मेटको बारेमा भरपुर अध्ययन गरेर मात्र खरिद गर्नुपर्छ । हेल्मेट खरिद पश्चातको पार्ट्सहरूको उपलब्धताको बारेमा पनि जानकार भएर मात्र खरिद गर्दा राम्रो ।

सर्टिफाइड
हेल्मेटमा हेल्मेटको गुणस्तरीयता, स्थायित्व र सत्यताको लागि प्रमाण पनि राखिएको हुन्छ । खरिदपूर्व नै हेल्मेट राम्रो हो या होइन भनेर छुट्याउन सकिन्छ । त्यसको लागि हेल्मेटको पछिल्लो भागमा प्रिन्ट गरिएको सुरक्षा सर्टिफिकेसनको लोगो हेर्नुपर्छ । जस्तै, भारतको ‘इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट’ अर्थात् ‘आइएसआई’ सर्टिफिकेसन, युरोपियन युनियनको ‘इकोनोमिक कमिसन फर युरोप’ मापदण्ड अपनाइएको अर्थात् ‘इसीई’ सर्टिफिकेसन । त्यस्तै, युएसको ‘डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट’ मापदण्ड अपनाइएको अर्थात् ‘डिओटी’ सर्टिफिकेसन र ‘स्नेल मेमोरियल फाउन्डेसन’को मापदण्ड अपनाइएको ‘स्नेल’ सर्टिफिकेसन । यी सबै सर्टिफिकेसन विभिन्न परीक्षण पश्चात मात्र तोकिएका हुन्छन् ।
हेल्मेटमा हेल्मेटको गुणस्तरीयता, स्थायित्व र सत्यताको लागि प्रमाण पनि राखिएको हुन्छ । खरिद पूर्व नै हेल्मेट राम्रो हो वा होइन भनेर छुट्याउन सकिन्छ । त्यसको लागि हेल्मेटको पछिल्लो भागमा प्रिन्ट गरिएको सुरक्षा सर्टिफिकेसनको लोगो हेर्नुपर्छ ।

सहज उपलब्ध हुने पाटपूर्जा
हेल्मेटका पार्ट्सहरूको उपलब्धताको बारेमा पनि खरिदपूर्व नै जानकार हुनुपर्छ । हेल्मेट्स नेपालका शाक्य भन्छन्, ‘खरिद गरेको केही समयमै भाइजर बिग्रिएमा, कोरिएमा बजारमा सो हेल्मेटमा लाग्ने भाइजरको उपलब्धता कस्तो छ भनेर बुझेर मात्र सो हेल्मेट खरिद गर्नु बुद्धिमानी हुनेछ ।’

पिनलक प्रणाली
पिनलक प्रणालीमा पनि ग्रेड अनुसार एन्टिफग क्षमता फरक पर्न जान्छ । हाल बजारमा ३०, ४०, ७० र १२० ग्रेडका पिनलक प्रणाली उपलब्ध छन् । कत्तिको कम तापक्रममा प्रयोग गर्ने हो सोही अनुसारको ग्रेडका पिनलक प्रणाली छनोट गर्नुपर्छ । जस्तै ७० ग्रेडको पिनलक प्रणाली छनोट गर्ने हो भने सो प्रणालीमा माइनस १ डिग्री सेल्सियस तापक्रमसम्मको बाफ रोक्ने क्षमता हुन्छ । यसर्थ पिनलक प्रणाली भएको हेल्मेट नै छनोट गर्नुपर्छ ।
यदि खरिद गरिएको हेल्मेटमा पिनलक प्रणाली छैन भने बजारमा युनिभर्सल पिनलक पनि उपलब्ध छन् । यो पिनलकलाई स्टिकर जस्तै गरी भाइजरको भित्री भागमा टाँसेर बाफ रोक्न सकिन्छ । पिनलकको पनि ८ महिनादेखि १ वर्ष सम्मको मात्र आयु हुन्छ । यद्यपी एन्टीफग स्प्रेभन्दा टिकाउ र प्रभावकारी भने पक्कै हुन्छन् ।

हेल्मेटको मोल
नेपाली बजारमा सर्टिफाइड र सुरक्षित गुण भएका हेल्मेटहरू करिब ८ हजार भन्दा माथि पर्छ । ५ हजार भन्दा माथिका हेल्मेटहरू पनि गुणस्तरीय त हुन्छन्, तर थोरै बढी लगानी गर्ने हो भने सम्पूर्ण सुविधा सम्पन्न, गुणस्तरीय, टिकाउ, स्टाइलिस र आरामदायी हेल्मेट ढुक्कसँग प्रयोग गर्न सकिने शाक्य बताउँछन् ।