नयाँ ब्रान्ड ग्रेटवाल र ह्यावलका गाडी काठमाडौंमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 27, 2021

नेपाली बजारमा चाइनिज ब्रान्ड ग्रेटवाल र ह्यावलका सवारी साधन भित्रिएका छन् ।
ग्रेटवालका सवारी साधन यो भन्दा पहिले पनि भित्रिएका थिए भने ह्यावल ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो ।
हाल ग्रेटवालको पोअर पिकअप र ह्यावलका जोलियन र एच६ एसयूभी भित्रिएका छन् ।
पोअर पिकअपमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ, जसले१६० एचपी पावर ४०० एनएम टर्क जेनेरेट गर्छ । ग्रेटवालको पोअर पिकअप दुई भेरिएन्टमा उपलब्ध छ । एउटा सनरुफ भएको र अर्को सनरुफ नभएको । एड्भान्स म्युजिक सिस्टम र सेफ्टी फिचर भएको पोअर फोर ह्विल ड्राइभयुक्त पिकअप हो ।
ह्यावल एच६ मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन छ, जसले २२४ एचपी पावर र ३८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा फ्रन्ट ग्रिल, एलईडी डीआरएल स्ट्रिप सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प छ । त्यसैगरी १९ इन्चको अलोय ह्विल छ ।
ह्यावल जोलियन १४९७ सीसी इन्जिनयुक्त गाडी हो । यसमा भएको टर्बोचार्जिङ टेक्नोलोजीले १४० एचपी पावर र २२० एनएम टर्क जेनेरेट गर्छ । गाडीमा ३६० डिग्री क्यामेरा छ । यसको सहयोगले गाडीको चारैतिर स्पष्टसँग देख्न सकिन्छ । लेन ट्रयाकिङ, अटो गियरसिफ्ट, भेन्टिलेटर, हिटेड सिट, इलेक्ट्रोनिक एड्जस्टेबल सिट आदि यसमा भएका राम्रा फिचर हुन् । मर्सिडिज, बीएमडब्ल्यु आदि गाडीमा उपलब्ध गियर नब यसमा राखिएको छ । यो गाडीमा नर्मल, स्ट्यान्डर्ड, सिटी, स्पोर्ट, स्नो र ग्राभेल गरी ६ वटा ड्राइभ मोड रहेको छ ।
हाल यी गाडीको मूल्य सार्वजनिक गरिएको छैन ।
ह्यावल जोलियनको मूल्य ६० लाख र एच६ को मूल्य ९० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।