नयाँ दिल्ली । गत वर्ष फियाट् क्रिस्लर अटोमोबाइल्स (एफसीए) इन्डियाले आफ्नो पहिलो उत्पादनका रुपमा लन्च गरेको जिप कम्पास भारतीय बजारमै २५ हजार ओटा विक्री भएको छ । एफसीए इन्डियाका अनुसार यो अवधिमा आठ हजार वटा जिप कम्पास अन्य एसियाली र युरोपेली बजारमा निर्यात समेत भएका छन् । ्
स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) प्रति विश्वव्यापी मोह बढिरहेकै बेला एफसीए इन्डियाले गत वर्षको जुलाईमा जिप कम्पास सार्वजनिक गरेको थियो । एक वर्षको अवधिमा भारतीय बजारमा २५ हजार कम्पास डेलिभरी गरेको उसले जनाएको हो ।
यो सफलतालाई मनाउन जिप इन्डियाले आफ्नो मिड साइज एसयुभीको स्पेसियल इडिसन सार्वजनिक गरेको छ । जिप कम्पास बेडरक नाम दिइएको यो कार स्पोर्टस टि्रममा आधारित छ । २ लिटर डिजेल इन्जिन र ६ स्पिड म्यानुअल ट्रान्समिसन रहेको कम्पास बेडरकले १७१ बीएचपी बराबरको पावर उत्पन्न गर्छ । यसमा पार्किङ क्यामेरा, १६ इन्चको एलोइ ह्विल, साइड स्टेप, ब्ल्याक रुफ रेल जस्ता फिचर छन् ।
‘जिप ब्रान्डलाई भारतले सहर्ष स्वीकारेको छ । हामी र हाम्रो उत्पादनमाथि विश्वास गर्नु भएका हाम्रा ग्राहकलाई धन्यवाद दिन चाहन्छौं,’ एफसीएस इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक केविन फि्लनले भने, ‘गुणस्तरीय एफ्टर सेल्स अनुभवमार्फत यो विश्वासलाई बलियो बनाउन हामी निरन्तर प्रयास गरिरहेका छौं ।’