हुन्डाई अल्काजार सार्वजनिक हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 29, 2021

हुन्डाईको क्रेटामा आधारित अल्काजार एसयूभी सार्वजनिक हुने तयारी अवस्थामा रहेको छ । कम्पनीले टिजर सार्वजनिक गरि सो गाडीको इन्टेरियर र एक्सटेरियर डिजाइन स्केजको खुलासा गरेको छ ।

अल्काजार ५ सिटर क्रेटाको तुलनामा बढी प्रिमियम लुकको हुनेछ । कारको तेस्रो पंक्तिमा २ जना बस्न मिल्ने सिट रहेको छ । बीचको पंक्तिमा क्याप्टेन सिट समावेश गरिएको छ । अल्काजारको रियर ओभरहेड बढाइएको छ ।

अल्काजारमा बम्पर थोरै उच्च र फक्स स्किड प्लेट प्रमुख रहेको छ । सो कारमा खास प्रकारको अलोय ह्वील डिजाइन समावेश गरिएको छ । हुन्डाई अल्काजारमा २०२० हुन्डाई क्रेटाको भन्दा राम्रो फिचर र इक्विपमेन्ट हुनेछ । दोस्रो पंक्तिको यात्रीको लागि वायरलेस चार्जिङ प्याड समावेश गरिएको छ ।

नयाँ एसयूभीमा ब्लुलाइन कनेक्टेड कार टेक्नोलोजीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, भेन्टिलेटेड सिट, फ्ल्याट बटम स्टेयरिङ ह्वील, ३६० डिग्री क्यामेरा, प्यानोरमिक सनरुफ जस्ता फिचर समावेश छ ।

सेफ्टीको लागि अल्काजारमा ६ एयरब्याग, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, आईसोफिक्स माउन्टेड सिट, हिल स्टार्ट, एन्टि लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन जस्ता फिचर जडान हुनेछ ।

हुन्डाई ७ सिटर एसयूभीमा ५ सिटर क्रेटा एसयुभीको इन्जिन प्रयोग गरिएको छ । यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर जीडीआई टर्बोचार्ज्ड पेट्रोल इन्जिन समावेश गरिएको छ । कारको ट्रान्समिसन विकल्पको रुपमा क्रेटा जस्तै हुने अनुमान गरिएको छ । सो इन्जिनको साथमा ६ स्पिड म्यानुअल र ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स समावेश रहेको छ ।