सीएनजी किट टाटाका गाडीमा प्रयोग हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 12, 2021

भारतको तेस्रो ठूलो कार निर्माता कम्पनी टाटा मोटर्सले पनि कम्प्रेस्ड न्याचुरल ग्यास किट कारमा प्रयोग गर्ने भएको छ । हाल हुन्डाई र मारुतिका कारहरुमा सीएनजी किटको प्रयोग गरिएको छ ।

मारुतिले एन्ट्री लेभल ह्याचव्याक कार अल्ट्रो, एस प्रसो, सिलेरियो, व्यागन आर, मारुति आर्टिगा तथा हुन्डाईका सन्ट्रो, ग्य्रान्ड आई टेन जियोजमा कम्पनीले सीएनजी किट दिएको छ । अब टाटाले पनि तीन मोडेल टाटा टियागो, अल्ट्रोज र टिगोरमा सीएनजी किट प्रयोग गर्ने जनाएको छ ।

मार्च २०२१ मा गत वर्षको तुलनामा टाटाले ५ सय ५ प्रतिशत बढी गाडी विक्री गरेको छ । टाटा मोटर्सले मार्च २०२१ म ६६ हजार ६ सय ९ यूनिट भारतमा मात्रै विक्री गरेको छ । गत वर्ष यो महिनामा कम्पनीले ११ हजार १२ यूनिट विक्री गरेको थियो । टाटाका गाडीमा सीएनजी किट प्रयोग गर्दा विक्री बढ्ने कम्पनीले जनाएको छ ।

कारमा सीएनजी किट आउँदा ग्राहकलाई पनि फाइदा हुनेछ । पेट्रोल डीजलका तुलनामा सीएनजीको मूल्य हाल आधी छ । साथै ग्राहकले माइलेज पनि बढी पाउने छन् । यद्यपी सीएनजी जडान गरिएका कार पेट्रोल कारहरुको तुलनामा महंगो हुनेछ ।

टाटा टियागो, अल्ट्रोज र टिगोरमा १.२ लीटरको रेवोट्रोन, ३ सिलेन्डर, पेट्रोल मोटर पाइन्छ । जुन ६००० आरपीएममा ८६ पीएसको पावर र ३३०० आरपीएममा ११३ एनएमको पीक टर्क जिनेरेट गर्छ ।