सवारीको चाप बढी देखिएपछि यस अघिका सबै पास रद्द
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
May 13, 2020

मंगलबार, बैशाख ३०, २०७७

गृह मन्त्रालयले कोेरोना संक्रमणको जोखिम बढ्दै गएको र सवारीको चाप बढी देखिएपछि यसअघिका पास रद्द गर्दै
थप कडाइ गर्ने निर्णय गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार अब उपत्यकाका तीन जिल्लाले समेत गृह मन्त्रालयको अनुमतीबिना पास जारी गर्न नपाउने भएका छन् । प्रशासनबाट जारी भएकै पास देखाएर हिँड्ने सवारीको चाप बढी भएपछि यसअघिका सबै पास रद्द गरिएको हो ।

उपत्यका बाहिरका जिल्लाले समेत अन्तर जिल्ला पास जारी गर्न पाउने छैनन् । अर्को जिल्ला जाने पास जारी गर्नु परे त्यो जिल्लाको प्रशासनसँग समेत अनुमती लिनुपर्नेछ ।

अब कुनै पनि कार्यालयका कर्मचारीले आफ्नो कार्यालयको परिचय पत्र देखाएर आवतजावत गर्न पाउने छैनन् । बैंक तथा वित्तिय संस्थाका कर्मचारीले समेत राष्ट्र बैंकबाट जारी भएको पास लिनु पर्नेछ । अन्य उद्योगधन्दा तथा कार्यालयले नियामक निकायको पास अनिवार्य देखाउनु पर्नेछ । नयाँ व्यवस्थाका बारेमा मंगलबार साँझ नै सबै सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिइसकेको प्रवक्ता शर्माले बताए ।

उपत्यकाका तीनै जिल्लाबाट पास जारी गर्दा गृहको अनुमतीमा पास जारी गरेपछि तीन जिल्लामा आवतजावत गर्न पाइनेछ । सञ्चार माध्यमको हकमा पनि सूचना विभागबाट जारी भएको प्रेस पास अनिवार्य गरिएको छ ।

२६ गतेबाट सरकारले लकडाउनलाई केही खुकुलो बनाएको थियो । तर उपत्यकामा सवारीको चाप ह्वात्तै बढेको थियो । मंगलबार मन्त्रिपरिषद्मा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन धेरै खुकुलो बनाएको भन्दै असन्तुष्टी जनाएका थिए ।

मंगलबार नै थप ७४ जनामा संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको हो। संक्रमितको संख्या बढेपछि विभिन्न जिल्लाले निशेधाज्ञा समेत जारी गरेका छन् ।