संसारको पहिलो सोलार पावर विद्युतीय एसयूभी सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

विद्युतीय सवारी साधानको माग संसार भर बढीरहेको छ । ग्राहकको आकर्षण र माग मध्येनजर गरी विभिन्न अटोमोबाइल कम्पनी विद्युतीय सवारी साधन निर्माणमा तिब्रता दिएका छन् । भविष्यमा विद्युतीय सवारी मात्र रहने गरी कम्पनीले विभिन्न टेक्नोलोजी ल्याइरहेका छन् । विद्युतीय सवारी साधनमा आउने एक समान्य प्रश्न हो चार्ज कति टिक्ने तथा कहाँ चार्जिङ गर्ने ? त्यस कारण विभिन्न सवारी निर्माता कम्पनीले उच्च माइलेजका लागि विभिन्न टेक्नोलोजी विकास गर्न लागि परेका छन् । तर एक कार कम्पनीले यसको उचित विकल्पको रुपमा सोलारबाट चार्जिङ गर्ने प्रविधि ल्याएको छ । सुर्यको किरणबाट कारको व्याट्री चार्ज गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

क्यालीफोर्नियाको स्टाटप कम्पनी हम्बल मोटर्सले संसारको पहिलो सोलार पावरबाट चल्ने विद्युतीय एसयूभी सार्वजनिक गरेको हो । हम्बल मोटर्सले कारको माथिल्लो भागमा सनरुफको प्यानल हटाई फोटोवोल्टिक सेल्स लगाएको छ । यी सेलले सोलार पावरको स्टोर गर्न मद्दत गर्छ । यो सोलार पावरबाट कार चल्दा स्वत आफै रिचार्ज गर्न सक्छ ।

हम्बल मोटर्सले यो कारका डिजाइन ए क्रसओभर एसयूभीको जस्तै बनाएको छ । कम्पनीले उक्त एसयूभीको छतमा सोलार रुफ लगाएको छ । कारमा बिजुली उत्पादन गर्न साइडलाइट्स, पीयर टू पीयर चार्जिङ, रीजेनरेटिभ ब्रेकिङ तथा फोल्डआउट सोलार एयर वीङ्स प्रयोग गरिएको छ । यी सबै टेक्नोलोजीको माध्यमले कार पार्किङको समयमा पनि व्याट्री रिचार्ज भइरहेको हुने कम्पनीले जनाएको छ । यसबाट प्रत्येक दिन १५ देखि ९५ किलोमीटर सम्मको दुरी तय गर्ने व्याट्रीमा चार्ज हुने जनाइएको छ । यो सूर्यको घाममा पूर्ण निर्भर हुनेछ ।

हम्बल अन कनसेप्टमा बनाइएको यस एसयूभीमा चार ढोका, पाँच सीटको व्यवस्था गरिएको छ । कम्पनीको अनुसार यस एसयूभीले अधिकतम १०२० एचपी टर्क जेनेरेट गर्न सक्नेछ । यसको टप स्पीड २६० किलोमीटर प्रति घण्टा रहेको छ । यो एसयूभीले २.५ सेकेण्डमा १०० किलोमीटरको प्रति घण्टाको गति लिन सक्छ ।

हम्बल अन कन्सेप्ट यस एसयूभीको लम्बाइ ५०२९ मिलीमीटर, जुन टोयोटा कोरोला भन्दा थोरै लामो र टेस्ला साइबरट्रकको तुलनमा अलि छोटो छ । यसको वजन १८१४ किलोग्राम छ । टेस्लाको प्रमुख विद्युतीय पिकअपको तुलनमा यसको वजन ६८० किलोग्राम कम रहेको छ ।

हम्बल मोटर्सले बनाएको यो एसयूभी दैनिक यात्रा गर्ने व्यक्तिका लागि उचित विकल्प सावित हुन सक्छ । कम्पनीले हाल विद्युतीय कारमा प्रयोग भएको टेक्नोलोजीको बारेमा खुलासा गरेको छैन् । अटो निर्माताले यो कारको बुकिङ सुरु गरिसकेको छ । कम्पनले सन २०२४ देखि डेलीभरी गर्ने जनाएको छ । कम्पनीले यो कारको मुल्य पनि सार्वजनिक गरेको छैन् ।