विकास निर्माणका सवारीलाई पास नचाहिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
May 9, 2020

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ ।

‘लकडाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवतजावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने निष्कर्ष निकालेका छौँ, इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने भन्ने बैठकको निष्कर्ष रहयो, यो निर्णय गृहमन्त्रालयमा पठाउँछौँ’, प्रजिअ दाहालले भने ।

उनले उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ ।
मान्छेको भिडभाड हुन नदिने र सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गर्ने निष्कर्षसमेत निकालिएको छ । विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ ।