वर्कशपहरु आगामी भाद्र १५ सम्म बन्द गर्न आग्रह
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
August 17, 2020

नेपाल अटोमेकानिक्स व्यवसायी संघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई आफ्ना वर्कशप आगामी भाद्र १५ सम्म बन्द गर्न आग्रह गरेको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को विश्वव्यापी रुपमा फैलिदै गैरहेको संक्रमण र हालका दिनमा उपत्यकामा पनि संक्रमण फैलिरहेको अवस्थामा र अत्यन्त जोखिमयुक्त व्यवसाय अन्तरगत रहेको अटो वर्कशपहरु पनि असुरक्षित नै देखिएको अवस्थामा यसलाई रोक्ने जिम्मा तपाई हाम्रो हातमा नै भएको संघले बताएको छ ।

संघले भनेको छ ‘आफ्नो दायित्वलाई मनन गर्दै यस संक्रमणकालीन अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार स्वास्थ्य सम्वन्धी नीतिलाई मध्यनजर गरी मिति २०७७ भाद्र ०१ गतेदेखि १५ गतेसम्म आफ्नो वर्कशपमा अत्यावश्यक आवश्यकताका सवारी साधनहरु (एम्वुलेन्स, अस्पताल, सुरक्षा निकायका सवारी साधन) मर्मत गर्नु परेमा वर्कशपमा, माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता अल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिका बाट मात्र मर्मत सम्भार गरी अन्य कामहरु पुर्ण रुपमा बन्द गर्न र गराउनुहुन सम्पुर्ण सदस्यहरुमा नेपाल अटोमेकानिक्स व्यवसायी संघ हार्दिक अपिल गर्दछ ।’