लायन्स क्लबद्धारा एसियाकै प्रथम महिला सम्मानित
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
May 8, 2020

लायन्स क्लबद्धारा एसियाकै प्रथम महिला सार्वजनिक टेम्पो चालक लक्ष्मी शर्मा सम्मानित भएकी छिन् ।

लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ ए १ ले शर्मालाई सम्मान गरेको हो । एक कार्यक्रमका बीच क्लबका निवर्तमान डिस्ट्रिक्ट गभर्नर अनन्त प्रसाद भेटवाल, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर टंकबहादुर श्रेष्ठ र रिजन चेयरपर्सन मधुसूदन सिग्देललगायत लायन्सका लिडरहरुले शर्मालाई सम्मान गरेका हुन् ।

६ वर्षको उमेरदेखि घरभन्दा बाहिर गई काम गरेर शिक्षाको अवसर नपाए पनि आफ्नै जीवनबाट शिक्षा लिएर टेम्पो चालक, मिस्त्री, ढाका कारखाना र काठका हस्तकला उद्योग संचालन गर्नुका अतिरिक्त चार हजारभन्दा बढी कालिगढ उत्पादन गरेर देश र समाजलाई दिनुभएको योगदान प्रति लायन्सले उच्च सम्मान ब्यक्त गरेको छ ।

हाल कोरोना भाइरसको महामारीको कारणले लागू भएको लकडाउनको समयमा घरको चौघेरा भित्र बस्नु पर्दा भएको एकांकीपनलाई केही हद सम्म भए पनि कम गर्न दीर्घायु र सुस्वास्थ्यको कामनाका साथ यसरी सम्मान गरिएको बताइएको छ ।
जीवनको यात्रामा अनगिन्ती समस्याहरु र त्यसमा पनि महिला भएकै कारणले अतिरिक्त संघर्ष गर्नु पर्दा पनि हरेस नखाई आफ्नो कर्मलाई निरन्तरता दिएर नारी सवलीकरणको प्रतिक बनेकी शर्मालाई सम्मानित गरिएको बताइएको छ ।
लक्ष्मी शर्माले २०३८ सालदेखि नेपालमा टेम्पो चलाएकी थिइन् । पछि २०४२ सालदेखि उनले दिक्क लागेर टेम्पो चलाउन छोडिन् र लक्ष्मी उडक्राफ्ट खोलिन् । टेम्पो चलाउनु भन्दा पहिले उनी मिस्त्री पनि थिइन् । उनलाई नेपालकै पहिलो महिला टेम्पो चालक मानिन्छ ।