मनकामना केबुलकार ६ दिन सञ्चालन ठप्प
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

स्तरोन्नतिको पहिलो चरणको कामका लागि मुग्लिन मनकामना केबुलकार ६ दिन सञ्चालन नहुने भएको छ । आज बुधबार देखि यही चैत ३० गते सम्म बन्द गरिएको हो ।
केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्य अनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए । चैत ३१ गतेदेखि नियमित सञ्चालनमा आउने उनले बताए ।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

महाप्रबन्धक शेरचनले पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने बताए । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए ।