भन्सारबाट जाँच पास भएका मालबाहक सवारीलाई चल्न दिने
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
May 9, 2020

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो ।

उनका अनुसार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ ।

उनले उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ ।

सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ ।

यस्तै सार्वजनिकस्थल, धार्मिकस्थलमा जमघट गर्न, खेलसम्बन्धी, होटल रेष्टुराँ, यात्रुबाहक बस सञ्चालन गर्न भने सरकारले रोकेको छ । यस्तै बालबालिका, वृद्धवृद्धा, असक्त मानिसको आवतजावतमा समेत रोक लगाएको छ ।