भद्रगोल यातायात कार्यालय
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
October 15, 2020

रोशनकुमार श्रेष्ठ

सवारी साधनहरुको कर तिर्ने एकान्तकुनास्थित यातायात कार्यालय अहिले निकै अस्तव्यस्त छ । दैनिक हजारौ.ग्राहकहरुले सेवा लिनुपर्ने यस कार्यालयमा जताततै भद्रगोल भएको सेवाग्राहीहरुको गुनासो छ ।
जाँचपास लिन सडकमा नै गाडी लामो लाइन लगाउनुपर्ने हुन्छ, तरपनि ट्राफिक प्रहरीहरुले सडकमा राख्न पाइन्न भनेर गाली समेत गरेको थानकोटका सेवाग्राही रोहित श्रेष्ठ बताउँछन् ।
सवारी खरिद बिक्री गर्दा, सवारी पास गर्नु अघि प्राविधिक चेकजाँच गराउनुपर्ने हुन्छ । चेकजाँच गराउने स्थानसम्म पुग्न नै निकै कठिन छ । सडक खाल्डाखुल्डी र हिलाम्मे छ, साना सवारीसाधनहरु कम ग्राउण्ड क्लियरेन्सका कारण धेरै ठाँउमा छुने गर्दछ भने जाने आउने बाटो एउटै र निकै साँघुरो भएका कारण घण्टौसम्म जामसमेत पर्ने हुन्छ ।
प्राविधिक चेकजाँच गर्न, सरकारले खटाएका कमचारीहरु त्यो स्थानमा भेटिन निकै गा¥हो पर्नेहुदाँ बाहिरी मेकानिक्सलाई अतिरिक्त शुल्क दिएर चेक गराउदा काम निकै छिटो हुने गरेको पाइन्छ ।
कर्मचारी अभावका कारण सेवाग्राहीहरुले यहाँ निकै दुःख झेल्नुपरेको छ भने जाँच गराउनको लागी पनि पार्किङ्गको व्यवस्था नभएका कारण प्रतिघण्टा रु १०० का दरले पार्किङ सुल्क तिर्नुपर्दछ । विलबुक नविकरण तथा सवारीकर तिर्न बिहानैदेखी लामो लाइन बस्नुपरेको र दैनिक १५० वटा कुपन मात्र बाडिने हुँदा धेरै सेवाग्राहीहरु दुःखी भई फर्कनुपरेको बताउँछन् । अहिलेको युगमा पनि लामो लाइन बस्नुपर्दा सेवाग्राहीहरुले अनलाइन सुविधाको आशा गरेको देखिन्छ । तर बिचौलियाहरुबाट काम गराउने भए अतिरिक्त शुल्क तिरे निकै चाँडो काम हुने बताउँछन् । सवारीकरले निकै ठूलो रकम राजस्व उठ्ने यो क्षेत्रमा सरकार पक्षले सेवाग्राहीहरुलाई भने दुःख शिवाय केही दिएको छैन । साधारण १०–२० मिनेटमा हुने काम गर्नपनि ४–५ घण्टा लाग्ने हुनाले सर्वसाधारणहरु यातायात कार्यालय भन्नासाथ तर्सन्छन् ।
पछिल्लो समय दुईपांग्रे र चारपांग्रे सवारी साधनहरुको कार्यालय छुट्टै भएपश्चात र विभिन्न स्थानमा कार्यालय खोलेपछी केही भिडभाड कम भएतापनी सवारी धनीहरु बढेका कारण चाप भने बढ्दो छ ।
अहिले एकान्तकुनास्थित कार्यालय भवनहरु नयाँ–नयाँ बनेतापनि केही ८–१० कोठाहरुमा मात्र भिडभाड देखिने हुदाँ यसतर्फ सम्बन्धित निकायहरुले सर्भिस काउन्टर बढाएर अझ प्रभावकारी सेवा दिनुपर्ने देखिन्छ । ती ठूला–ठूला भवनहरुको प्रयोग नहुने हो भने जनताहरुको कर तिरेको पैसाको दुरुपयोग भएको मानिन्छ ।
अन्त्यमा सरकारी कार्यालयहरुले सेवाग्राहीहरुलाई दिने सेवामा सधै प्राथमिकतामा राखेर, सेवक झैं बफादार हुनसके आउने दिनहरुमा यस्ता कार्यालयप्रतिको नकारात्मक पक्ष हट्ने थियो कि ।

Email: info@eautonepal.com