पालिकाहरु सडक बोर्डले दिने रकम लिन आउदैनन्
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
July 7, 2020

यो वर्ष, वर्षा लागेको लामो समय भैसकेको छ । देशका विभिन्न भागका सडकको अवस्था साउन लाग्नु अगाडी नै जिर्ण भैसकेको छ । स्थानिय निकायलाई पानी कालोपत्रे सडकको शत्रु हो भन्ने विषयको जानकारी हुदैन । फलत स्थानिय निकायले मुख्य पिच सडकबाट अनगिन्ती शाखा सडक तथा व्यक्तिगत घर र व्यवसायमा जाने ट्रयाक बनाएको हुन्छ । त्यो ट्रयाकबाट आएको पानीले सडकको बेहाल बनाएको हुन्छ ।
अहिलेसम्म नेपालमा पिच सडक र ट्रयाक विचको पानीको लिङ्क टुटाएर पिच सडकलाई जोगाउने अभियान सुरु भएको छैन । भरखरै यो विषयमा सडक बोर्डले चासो देखाएको छ र आधुनिक ड्रेनको प्रयोग गर्न तयार भएको छ । स्थानिय निकाय अहिलेसम्म पिच सडकको संरक्षणको लागी तत्पर भएको देखिदैन । त्यती मात्रै हैन कतिपय स्थानिय निकायले सडक बोर्डले दिने नियमित मर्मत संभार बजेट पनि लाने गरेका छैनन् ।
उपत्यका वाहिरका पालिकाको त कुरै छोडौ उपत्यका नजिकका पालिकाले पनि विभिन्न किस्ता नलगेको सडक बोर्ड नेपालले जानकारी गराएको छ । अहिले नगरपालिकाको बजेट करोडौको हुने भएकोले सडकबोर्डले दिने केही लाखको नगरपालिका वा गाउपालिकाले वास्ता नगर्ने र राष्ट्रिय राजमार्ग संरक्षण गर्ने नीति अबलम्बन नगर्ने गरेको देखिन्छ । त्यसैले अबका दिनमा समृद्ध नेपालका लागी नेपालका कालोपत्रे सडक संरक्षण गरेर सफा चुस्त र दुरुस्त राख्ने विशेष खालको अभियाननै सुरु गर्नुपर्ने देखिएको छ ।
यो अभियानले सडकको संरक्षण हुन्छ र अतिरिक्त कालोपत्रे सडक बनाउने योजनाहरु अघि बढाउन सकिन्छ ।