नेपालमै बनेको इलेक्ट्रिक बाइक यात्री पी जिरो वैशाख १० देखि बिक्री हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 4, 2021

नेपालमा बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी जिरोको प्रोडक्सन भर्सन आगामी बैशाख १० देखि बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

नेपाली युवाहरुको समूहले डिजाइन गरेको सो मोटरसाइकलको कन्सेप्ट भर्सन २०१९ मा सार्वजनिक गरिएको थियो। प्रोटोटाइप डिजाइन गरिएको मोटरसाइकल व्यवसायी सौरभ ज्योतिले खरिद गरेका थिए । प्रोडक्सन भर्सन सार्वजनिक गरि थोरै डाउन पेमेन्टमा अर्डर समेत गर्न सकिने कम्पनीको आधिकारिक वाइवसाइटमा उल्लेख छ ।

मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । दुई घन्टामा नै ३.३ किलोवाट क्षमताको चार्जरले फुल चार्ज हुने कम्पनीले जनाएको छ । मोटरसाइकलले सून्यदेखि ६० किलोमिटरको स्पीड केवल २.५ सेकेन्डमा भेट्टाउन सक्ने कम्पनीको दाबी छ । बाइकको उच्चगति क्षमता १४० किलोमिटर प्रतिघन्टा रहेको छ ।

कम्पनीले पी जिरो मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

बाइकमा अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध जडान गरिएको छ । मोटरसाइकलमा १७ इन्चको टायर प्रयोग गरिएको छ ।

कम्पनीले मोटर साइकलमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४०० एमएमको ह्वीलवेस दिएको छ । बाइकको पर्फोमेन्स हेर्न केही समय कुर्नु पर्ने देखिन्छ । बाइकका आधिकारिक मूल्य सार्वजनिक गरिएको छैन् ।