नेपालमा रेल चलाउन कानुन नबन्दा ढिलाई
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 9, 2021

कुर्था जयनगर रेलमार्गमा तयारी पूरा भए पनि कानूनको अभावका कारण रेल सेवा शुरु भएको छैन । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । उनले कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिने बताए ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलमार्ग गत आर्थिक वर्षमा सम्पन्न भएको थियो । सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो ।

आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । रेलमार्गमा आवश्यक जनशक्ति ल्याउन भारतीयसँग सम्झौता भइसकेको छ ।

सरकारले कुर्था जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट रेल सेट खरिद गरिएको थियो । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । त्यसमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायतका रहने कम्पनीले जनाएको छ । महानिर्देशक भट्टराईले रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताए ।

कम्पनीले रेलमार्गमा काम गर्नै जनशक्तिलाई दुई साताको तालीम दिइने महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार रेलको महत्व बुझाएर कुनकुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको उक्त रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।