नाडा र गभर्नर बीच मौद्रिक नीतिवारे छलफल सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
June 26, 2020

अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यिय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट सम्पन्न गरेको छ ।

नाडा प्रतिनिधि मण्डलले मुलतः राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पु¥याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा जोड दिएको छ । तर त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी नीति आउनु आफैमा विरोधाभाषपूर्ण भएको बताएको छ ।
निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यसको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने विषयमा नाडाले गभर्नर अधिकारीसँग छलफल गरेको छ ।
यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजस्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाकोे विश्वास रहेको जनाएको छ ।

त्यसैगरी सो छलफलमा नेपाल राष्ट्र बैंकले हायर पर्चेज लोनको सम्बन्धमा कर योग्य आयको कुल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनु पर्ने बर्तमान व्यवस्था खारेजगरी अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउदा सरकारी राजस्वमा पनि बढोत्तरी हुने हुँदा सो अनुसारको व्यवस्थाको लागि समेत छलफल भएको नाडाले जनाएको छ ।
छलफलको अन्त्यमा अटोमोवाइल व्यवसायीहरुलाई राहत हुने किसिमबाटै मौद्रिक नीति ल्याइने गभर्नर अधिकारीले बताउदै सवारी साधन पैठारीकर्ताहरुले अव सवारी साधनहरुको एसेम्वलिङ उद्योग खोल्नेतर्फ पहल गर्न अनुरोध गरे । त्यसका लागि आवश्यक नीति तथा कार्यक्रमहरु समेत ल्याइने आश्वासन दिएको नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका साथै नाडाका उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छा, सचिव अनुपकुमार बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती समेतको उपस्थिति रहेको थियो ।