त्रिशूलीमा निर्माणधिन पुल भत्कियो
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल भत्किएको छ । मंगलबार बिहान पुल भत्किएको स्थानीयले बताएका हुन् ।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी रहेको बताए । चितवन र तनहुँ तथा वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने उक्त पुलको लम्बाइ २ सय मिटर छ ।

उक्त पुलमा कंक्रिटका ४०४० मिटरका तीनवटा र स्टिलको एउटा ४० मिटरको स्पान रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका छन् ।

ढलानपछि केही मुख्य काम बाँकी रहेका बेलामा खसेको छ । पुल भत्किनुका कारण बारे पत्ता लगाइरहेको प्रमुख अधिकारीले बताए । सो पुललाई अघिल्लो वर्ष बाढीले असर गर्दा निर्माण ढिलाई भएको थियो ।